बुटवल । सडकमा छाडिएका चौपायाको व्यवस्थापन बुटवल उपमहानगरपालिकाका लागि चुनौतीपूर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले गौशाला सञ्चालनमा ल्याए पनि मुख्य सडक र गल्लीमा चौपाया हिँडडुल गर्ने दृश्य सामान्य भइसकेको छ ।
हरियालीसहितका फराकिला सडकले सुन्दर बन्दै गएको बुटवलमा छाडा चौपाया नियन्त्रणको विषय भने जटिल बन्दै गएको छ । बजारका मुख्य सडक, चोक, गल्ली र खेतबारी हुँदै सहरका कुनाकाप्चामा पनि चौपायाको हुल देख्न सकिन्छ ।
मुख्य सडकमै जथाभावी बस्ने चौपायाले सवारी दुर्घटनाको जोखिम बढाउनुका साथै पैदल यात्रीलाई समेत असहज बनाएको छ । चौपायाले सडक डिभाइडरमा लगाइएका बिरुवा बिगार्ने, आक्रामक व्यवहार देखाउने र मानिसलाई हान्नेसम्मको जोखिम बढेको स्थानीयहरू बताउँछन् ।
होराइजन चोकमा बस्दै आएकी पार्वती भण्डारी भन्छिन्, “सडकमा ठूला-ठूला साँढेहरू हिँडिरहँदा डर लाग्छ । साना बालबालिकालाई पसल वा विद्यालयसम्म एक्लै पठाउन सकिंदैन ।” उनका अनुसार भित्री सडक र गल्लीसम्म चौपाया आइपुग्ने क्रम बढेको छ ।
सडकमा छाडिएका चौपायाको मूल जड किसानको व्यवहारसँग जोडिएको छ । दूध दिने समयसम्म गोठमा राख्ने गाईबस्तुलाई रोगी वा बूढो भएपछि सडकमा छोड्ने प्रवृत्तिले समस्या अझ जटिल बनाएको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घका सदस्य कृष्ण पाण्डे भन्छन्, “बाच्छी जन्मिए गोठमा, बाच्छा जन्मिए सडकमा भन्ने प्रवृत्तिले छाडा चौपायाको समस्या झनै बढाएको छ ।” उनी किसानहरूलाई जिम्मेवार बनाउने र सडकमै पशु छोड्नेहरूमाथि कारबाही गर्नुपर्नेमा जोड दिन्छन् ।
यही पृष्ठभूमिमा बुटवल उपमहानगरपालिकाले २०७७ सालदेखि वडानं ७, दीपनगरमा नन्दिनी गौशालाको स्थापना गरेको छ । धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त गौशालामा हाल ४ सय हाराहारी गाईबस्तु रहेका छन् ।
झण्डै ८ बिगाहा क्षेत्रफलमा फैलिएको गौशालालाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भनिए पनि आवश्यक पूर्वाधार र बजेट अभावले व्यवस्थित गर्न सकिएको छैन । उपमहानगरपालिकाका पशु शाखा अधिकृत झविन्द्र बन्जाडेका अनुसार बुटवलका सबै छाडा चौपायालाई व्यवस्थापन गर्न अहिलेको क्षेत्रफल अपुग छ । “झण्डै २० बिगाहा क्षेत्रफल आवश्यक देखिन्छ,” उनले भने ।
गौशालाको दैनिक सञ्चालनमा घाँस, दाना र गुणको आवश्यकता हुने भएकाले आर्थिक भार बढिरहेको बन्जाडे बताउँछन् । चालु आर्थिक वर्ष २०८१/८२ मा गौशालाका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए ।
प्रवक्ता रानाले भने, “स्थानीयको सहयोगबिना दीर्घकालीन समाधान सम्भव छैन। गौशाला व्यवस्थापनमा इच्छुक व्यक्तिको सहयोगलाई उपमहानगरपालिकाले स्वागत गर्छ ।”
नगरप्रमुख खेलराज पाण्डे छाडा चौपायाको व्यवस्थापन उपमहानगरपालिकाको प्राथमिकतामा रहेको बताउँछन् । तर, समस्या बुटवलमै सीमित नरहेको उनको भनाइ छ । “छिमेकी पालिका, जिल्ला र सीमापारिबाट समेत बुटवलमा गाईबस्तु ल्याएर छोड्ने प्रवृत्तिले समस्या झनै बढाएको छ,” उनले भने ।
बुटवलका सडकमा देखिने धेरै चौपाया बुटवलका नभई सीमाक्षेत्रबाट ल्याइएका हुने गरेको पाण्डे बताउँछन् । “रोगी, बूढा गाईहरू रातको समयमा सिधै सडकमा ल्याएर छोडिन्छ । ट्राफिक प्रहरीले लौरो समातेर सडकबाट धपाउने अवस्था सामान्यजस्तै बनेको छ,” उनले भने ।
बुटवल ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा भन्छन्, “छाडा चौपाया ट्राफिक व्यवस्थापनको बाधक बनेका छन् । सवारी साधनको बहाव प्रभावित हुने मात्र होइन, दुर्घटनाको जोखिम समेत बढेको छ ।”
“भारतबाट गाईबस्तु ल्याएर सडकमा छाड्ने प्रवृत्ति पनि देखिन्छ ।" उनले भने, "ट्राफिक व्यवस्थापनका लागि स्थानीय पालिकासँग समन्वय आवश्यक छ ।”
सडकमा देखिने चौपायालाई हटाउन ट्राफिक प्रहरीले तत्कालका लागि प्रयास गरे पनि दीर्घकालीन समाधान नहुँदा समस्या यथावत् रहेको शर्माको भनाइ छ ।
गौशालामा साढेँजस्ता ठूला र आक्रामक चौपायालाई लैजान कठिन हुने भएकाले कतिपयलाई देवदहको भलुहीस्थित गौशालामा पठाइएको नगर प्रमुख पाण्डेले बताए । यस्तै, छाडा चौपायाको व्यवस्थापनका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ५ सय बिगाहा जग्गाको माग गर्दै प्रदेश सरकारसँग समन्वय गरिरहेको र बुटवलले पनि त्यसमा सहकार्य गरिरहेको उनले जानकारी दिए ।
बुटवलको छाडा चौपाया समस्या व्यवस्थापनका लागि सरकारी प्रयासहरू जारी छन् । तर, समस्या समाधानका लागि स्थानीय तह, छिमेकी पालिका, किसान र नागरिक सबैको साझा जिम्मेवारी रहने प्रस्ट देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology