तानसेन । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं ३ स्थित रिमिघा लेक क्षेत्रमा भेटिएको वस्तु यार्सागुम्बा नै भएको पुष्टि भएको छ ।
झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्ने क्रममा भेटिएको उक्त वस्तुलाई परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार पठाइएको थियो । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार परीक्षणपछि त्यसमा यार्सागुम्बा भएको पुष्टि भएको हो ।
प्रयोगशालाको प्रतिवेदन आएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले हाललाई सो क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन् । गाउँपालिकाले औपचारिक सूचना जारी गरी रिमिघा लेक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार यार्सा नै भएको प्रमाणित भए पनि यसको प्रजाति र औषधिजन्य मूल्य अझै यकिन गरिएको छैन । समुद्री सतहबाट १८०० मिटर उचाइमा यार्सागुम्बा भेटिएको यो विरलै देखिने घटना भएको भन्दै पाल्पाका स्थानीयवासी उत्साहित भएका छन् ।
सामान्यतः यार्सागुम्बा समुद्री सतहबाट तीन हजार पाँच सयदेखि पाँच हजार पाँच सय मिटरको उचाइमा पाइन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा मात्र पाइने यस बहुमूल्य जडीबुटीमा शक्तिवर्धक, क्यान्सर, क्षयरोग, रक्तअल्पता, फोक्सो तथा मिर्गौला रोगसँग सम्बन्धित औषधीय गुण रहेको मानिन्छ ।
नेपाल यार्सागुम्बा आपूर्तिको दृष्टिकोणले चीनपछि दोस्रो स्थानमा रहेको मानिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology