काठमाडौं । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताएका छन् । मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यायले लगानीयोग्य रकम थ्रुप्रिने र व्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताए । गलत ठाउँमा लगानी हुनसक्ने हुदाँ बैंकहरुले थ्रुपिएको पुँजीलाई कहाँ लगानी गर्ने यसबारे आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न सक्नुपर्ने उपाध्यायले बताए ।
नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उनको भनाई छ । वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरुरी रहेको उनले बताए ।
उपाध्यायकाअनुसार नेपालमा प्रभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले समस्या भएको उल्लेख गरे । भारतको उदाहरण दिँदै उनले यदी धितो छ भने तीन वर्ष नभईकन सतप्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता नपर्ने तर नेपालमा पहिलो वर्षमै सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले ठूलो दबाब पैदा गरेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले बजेटको उद्देश्य र मर्मअनुरुप मौद्रिक नीति आउन आवश्यक भएको बताए । उनले अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिलाई सन्तुलन मिलाएर जाने कुरा गरेको भन्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
यस्तै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नागरिकलाई केन्द्रमा राखेर आफूले बीमाको क्षेत्रमा ‘प्रो पिपुल्स पोलिसि’ बनाउन थालेको जानकारी दिए । उनका अनुसार यसको नतिजा देखिन केही समय लाग्नेछ । ओझाले विगतमा व्यवस्था गरिएका कतिपय नीतिहरुमा आफूले केही हस्तक्षेप समेत थालेको बताए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले केन्द्रिय बैंकले लिने नीति तथा निर्णयले सम्पूर्ण वित्तीय प्रणालीमा असर गर्ने बताए । उनकाअनुसार ती नीतिले पुँजी बजारलाई समेत प्रत्यक्ष रुपमा असर गर्ने हुँदा मौद्रिक नीतिबारेका छलफलहरुले बजारको स्थायित्वलाई समेत मजबुत बनाउन सघाउ पुग्छ ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले अरु देशको तुलनामा नेपालको मौद्रिक नीति फरक रहेको बताए । उनले मौद्रिक नीतिले धेरै काम गरिदिओस् भन्ने सोसाइटीको धेरै आकांक्षा रहने उल्लेख गरे ।
अधिकारीका अनुसार मौद्रिक नीतिको कोर फङ्सङ भित्र बसेर मिडियाहरुले यसका सीमाहरु, मेकानिजम, यसभित्र बसेर राष्ट्र बैंकले कसरी बसेर काम गरिरहेको छ भन्नेबारे मिडियाहरुले वास्तविकता ल्याइदिन सक्नुपर्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology