दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज आइतबार बजेट सार्वजनिक गर्दैछ ।
दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र खर्चको वार्षिक अनुमान प्रस्तुत गर्ने तयारी छ । मन्त्री कार्कीले बजेटसँगै ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ समेत सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।
नीति तथा कार्यक्रमको आधारमा तयार पारिएको बजेटले प्रदेशको समृद्धि, सुशासन र सामाजिक न्यायका आयामलाई सन्तुलनमा राख्ने विश्वास प्रदेश सरकारले लिएको छ । कृषि, रोजगारी, पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, उद्योग, वातावरण र सामाजिक सुरक्षालाई प्राथमिकता दिनेगरी बजेट निर्माण गरिएको जनाइएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याउन लागिएको भन्दै समृद्धि र विकासलाई लयमा हिँडाउनेगरी प्राथमिकता तोकिएको बताएका छन् । उनले भनेका छन्, "प्रदेशबासीको विकास प्रतिको तीव्र चाहनालाई बजेटले सम्बोधन गरेको छ । कृषि, पर्यटन, उद्योग लगायतलाई समृद्धिको आधार मानेका छौं ।"
गत वर्ष प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर आगामी वर्षको बजेट आकार केही घटाएर ल्याउने तयारी गरिएको छ । स्रोत परिचालनमा देखिएको चुनौती, खर्चको प्रभावकारिता र प्राथमिकताका पुनःनिर्धारणका आधारमा सन्तुलित आकारको बजेट प्रस्तुत गरिने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology