बुटवल । स्वास्थ्य प्रवद्र्वनात्मक विद्यालय मापदण्ड सम्बन्धी एक दिने कार्यशाला रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत सोमवार तिलोत्तमामा सम्पन्न कार्यक्रममा बुटवल र तिलोत्तमाका सरोकारवालाहरुको सहभागिता थियो ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार बुटवल उपमहानगरपालिका शिक्षा शाखा तथा जनस्वास्थ्य शाखा प्रमुख, तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख र जनस्वास्थ्य शाखा प्रमुख तथा तिलोत्तम नगरपालिका, संघीय सरकारबाट विद्यालय नर्स कार्यक्रम सञ्चालन भएका विद्यालयहरू र बुटवलमा विद्यालय स्रोतमा विद्यालय नर्स कार्यक्रम भएका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।
एकदिने कार्यशालामा किशोर किशोरी मैत्री स्वास्थ्यका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा स्वास्थ्य प्रवद्र्वनात्मक विद्यालय मापदण्ड कार्यान्वयन र किशोर किशोरी मैत्री सूचना केन्द्र तथा स्वास्थ्य सेवा स्थापना सञ्चालन र समन्वय सम्बन्धी कार्ययोजना निर्माण गरी प्रस्तुती समेत गरिएको थियो ।
तिलोत्तमा नगरपालिका अन्तर्गतका गौतम बुद्ध मावि, केवलानी, शङ्करनगर दुर्गादत्त मावि, जनभावना मावि, जनजागृति मावि,टिकुलीगढ मावि र शिवपुर माविको तर्फबाट शङ्करनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले कार्ययोजना पेश गरेका थिए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख माधव बन्जाडेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवा विभागका बाला राईले सहजीकरण गरेकी थिइन् ।
विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम नेपालमा कोशी प्रदेशमा १६०, मधेश प्रदेशमा ४०, बागमती प्रदेशमा आठ सय ४८, गण्डकी प्रदेशमा ५४, सुदुर पश्चिममा ३६ वटा विद्यालय र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट दुइ सय ४८ गरी देश भरि एक हजार तीन सय छयासी विद्यालयमा लागु भएको नवीन औद्योगिक माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology