काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ। संघले स्मार्ट एनआरएनए मोबाइल एपमार्फत सदस्यता प्रणालीलाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाएको दाबी गरेको छ।
संघका अनुसार जुलाई ११ सम्ममा कुल ६८ हजार ६५१ जनाको सदस्यता आवेदन स्वीकृत भइसकेको छ। थप ५ हजार १९८ जना सदस्यको आवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ। संसारभरि फैलिएका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत सदस्यता संकलन भइरहेको संघले जनाएको छ ।
एनआरएनएमा सबैभन्दा धेरै सदस्यता जापानबाट संकलन भएको छ। त्यहाँ १८ हजार ३९३ सदस्यले नाम दर्ता गराएका छन्। त्यसपछि अष्ट्रेलियाबाट १५ हजार ५५१ र अमेरिका तेस्रो स्थानमा ९ हजार ६७१ सदस्यसहित रहेको छ। बेलायतबाट ३ हजार ५०८, साउदी अरेबियाबाट ३ हजार १२७, क्यानाडाबाट ५ हजार ७५०, कतारबाट १ हजार १२४, आयरल्याण्डबाट १ हजार ४०२ र संयुक्त अरब इमिरेट्स (यूएई) बाट १ हजार ९२० जनाले सदस्यता लिएका छन् ।
क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा धेरै सहभागिता एशिया–प्यासिफिक क्षेत्रको देखिएको छ। त्यहाँबाट १९ हजार ९११ सदस्यले नाम दर्ता गराएका छन्, जुन कुल सदस्यताको २९ प्रतिशत हो। त्यसपछि ओसियानिया क्षेत्रबाट १६ हजार ५३६ (२४.१%), अमेरिकाजबाट १५ हजार ४२१ (२२.५%), युरोपबाट ९ हजार ८११ (१४.३%), मध्यपूर्वबाट ६ हजार ३५७ (९.३%) र अफ्रिकाबाट ६१५ (१%) सदस्यता संकलन भएको हो ।
हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद् एनआरएनएको एमआइएस प्रणालीमा आबद्ध भइसकेका छन्। जापान र अष्ट्रेलियामा सदस्यता वितरण सम्पन्न भइसकेको छ, जहाँ उल्लेखनीय सहभागिता देखिएको छ। क्यानाडा, न्युजिल्यान्ड, आयरल्याण्ड, साउदी अरेबिया, साउथ सुडान र फ्रान्समा पनि सदस्यता वितरण सकिएको संघले जनाएको छ ।
संघका पदाधिकारीहरूका अनुसार बाँकी परिषद्हरूबाट आउने नयाँ सदस्यता स्वीकृति पश्चात् सदस्य संख्यामा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology