काठमाडौं । लुइस डियाजका लागि बार्यन म्युनिखले गरेको ५८.६ मिलियन पाउण्डको सुरुवाती प्रस्ताव लिभरपुलले अस्वीकार गरेको छ ।
जर्मन क्लब बार्यनले केही हप्ता अघि लिभरपुलसँग डियाजको बारेमा सम्पर्क गरेको बताइएको छ । तर त्यसबेला नै लिभरपुलले स्पष्ट रूपमा डियाज बिक्रीका लागि नरहेको उल्लेख गरेको थियो ।
मंगलवार आफ्नो धारणा झनै बलियो बनाउँदै लिभरपुलले २८ वर्षीय कोलम्बियन फरवार्डका लागि बार्यनको पहिलो प्रस्ताव अस्वीकार गरिदियो ।
डच प्रशिक्षक आर्ने स्लटको टोलीमा डियाजलाई एक महत्वपूर्ण सदस्यको रूपमा हेर्ने गरिन्छ । लिभरपुलले उनलाई ८७ मिलियन पाउण्ड भन्दा बढी मूल्यांकन गरेको छ । उनको लिभरपुलसँगको सम्झौता सन् २०२७ मा सकिदैछ ।
गएको सिजन उनले क्लब र राष्ट्रिय टोलीका लागि गरी २२ गोल गरेका थिए । तीमध्ये १३ गोल प्रिमियर लिगमा थिए । लिभरपुलले दोस्रो स्थानमा टोलीलाई १० अंकले पछि पार्दै प्रिमियर लिग जितेको थियो ।
डियाजप्रति अघिल्लो सिजनमा म्यानचेस्टर सिटीले चासो देखाएको थियो भने उनी साउदी अरबमा पनि रुचाईने खेलाडीको रुपमा पर्ने गर्छन् ।
हाल लिभरपुल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ । क्लबले न्युक्यासल युनाइटेडका स्विडिस फरवार्ड अलेक्जेन्डर इसाकप्रति चासो राखेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology