०९ बैशाख एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स ले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.१ ओभरमा २ सय २ रनमा अल आउट भयो ।
विशाल लक्ष्य पछ्याउनेक्रममा कोलकाताको लागि प्याट कमिन्स ३४ बलमा ४ चौका र ६ छक्का सहित ६६ रनमा अविजित रहे । आन्द्रे रशेलले ५४ रनको अर्धशतकीय पारी खेले । २२ बल खेल्दै उनले ३ चौका र ६ छक्का प्रहार गरेका थिए । दिनेश कार्तिकले ४० रनको योगदान गरे । निकै खराब सुरुवात गरेको कोलकतालाई आन्द्रे रसेल र दिनेश कार्तिकले छैटौं विकेटका लागि ३९ बलमा ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङलाई सम्हालेका थिए ।
बलिङतर्फ चेन्नईका लागि दीपक चहारले सर्वाधिक ४ विकेट लिए । त्यस्तै लुङ्गी एन्गीडीले ३ विकेट तथा श्याम करनले एक विकेट लिए ।
यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेको कोलकाताले पहिला फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा चेन्नईले आएको थियो । चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ६० बलमा ९ चौका र ४ छक्का सहित ९५ रनको उत्कृष्ट इनिङ खेले । युवा ओपनर ऋतुराज गायकवाड ४२ बलमा ६ चौका र ४ छक्का सहित ६२ रन बनाए ।
बलिङ तर्फ कोलकाताका लागि आन्द्रे रसेल, बरुण चक्रबर्ती र सुनिल नारायणले १–१ विकेट लिए ।
जितसँगै चेन्नईले जारी आइपिएलमा ४ खेलबाट ६ अंक जोडेको छ । त्यस्तै पराजित कोलकाताको ४ खेलबाट २ अंक छ ।
उता बुधबारनै भएको पहिलो खेलमा सनराइजर्स हैदाराबादले पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै आइपिएलमा पहिलो जित निकालेको छ । 
जितका लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले ओपनर जोनी बेयरस्टोको अविजित ६३ रनको सहयोगमा १८.४ ओभरमा पूरा गरेको थियो ।
विहिबार बेंगलोर र राजस्थानबीच प्रतिस्पर्धा हुने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology