काठमाडौँ । २० जनवरी २०२५ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आइतवार आफ्नो कार्यकालको ६ महिना पूरा गरे ।
चुनावी अभियानको क्रममा उनले गाजा र युक्रेन युद्ध '२४ घण्टामा' अन्त्य गर्ने वाचा गरेका थिए । तर अहिलेसम्म न त रुस-युक्रेन युद्ध रोकिएको छ न त गाजा पट्टीमा इजरायल-हमास द्वन्द्व । युक्रेनमा अझै पनि लडाईं जारी छ, जबकि गाजामा अहिलेसम्म ५८ हजार भन्दा बढी मानिसहरू मारिएका छन् ।
राष्ट्रपति बनेको पहिलो छ महिनामा, ट्रम्पको मुख्य ध्यान विश्वव्यापी व्यापार नीतिमा थियो । उनले चीनमा ६० प्रतिशत, भियतनाममा २५ प्रतिशत र युरोपेली कारहरूमा ४० प्रतिशत कर लगाए । प्रतिक्रियामा, चीन र युरोपेली संघले पनि प्रतिशोधात्मक कर लगाए । घरेलु मोर्चामा, ट्रम्प आप्रवासी नियन्त्रणको बारेमा कडा रुपमा प्रस्तुत भए । पछिल्लो ३ महिनामा, अमेरिका-मेक्सिको सीमामा हजारौं मानिसहरूलाई फिर्ता पठाइएको छ भने विश्वका हजारौं नागरिकलाई डिपोर्ट गरिएको छ र योक्रम जारी छ ।
अब ट्रम्पले युक्रेन युद्धमा आफ्नो अडान परिवर्तन गरेका छन्। युक्रेन मुद्दा ट्रम्पको लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठाको विषय बनेको छ । आगामी समयमा दुवै युद्धको बारेमा केही अर्थपूर्ण परिणाम आउन सक्ने विश्वास गरिन्छ । ट्रम्पले रूस-युक्रेन युद्ध अन्त्य गर्न आक्रामक कूटनीतिक र आर्थिक रणनीति अपनाउने संकेत दिएका छन् । ट्रम्पले ५० दिन भित्र शान्ति सम्झौता नभएमा रूसमा १०० प्रतिशत दोस्रो कर लगाउने धम्की दिएका छन् । यो समयसीमा सेप्टेम्बर २ मा समाप्त हुनेछ, त्यसपछि कडाइको तयारी छ ।
ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल प्रणाली जस्ता हतियार आपूर्ति गर्ने वाचा गरेका छन्, जसको लागत युरोपेली देशहरूले वहन गर्नेछन् । साथै, ट्रम्पले नाटो देशहरूलाई रक्षा खर्च जीडीपीको ५ प्रतिशतसम्म बढाउन दबाब दिएका छन्, ताकि युक्रेनलाई समर्थन मिलोस् । अहिलेसम्म युक्रेनमा ट्रम्पको नीति अस्थिर रहेको छ, तर यस पटक तिनीहरू आक्रामक छन् ।
राष्ट्रपति ट्रम्पले गाजा युद्ध अन्त्य गर्न आगामी ६ महिनामा इजरायल र हमासमाथि दबाब बढाउने रणनीति अपनाएका छन् । ट्रम्पले इजरायललाई ६० दिनको युद्धविराम प्रस्ताव गरे र हमासलाई चेतावनी दिदै यस प्रस्तावलाई स्वीकार नगरेमा 'गम्भीर परिणाम' भोग्नुपर्ने बताए ।
ट्रम्प आफ्नो ६ महिनामा करयुद्धदेखि अप्रवासीमाथि कडाइ, भिसामा कडाइ, सरकारी दक्षता विभागको गठन, व्यापक रुपमा कर्मचारीको कटौती, विदेशी सहयोगमा व्यापक कटौती, एलन मस्कसँगको सम्बन्ध खराब, इरानमाथिको आक्रमण, रुसमाथि वार्ताको दबाब जस्ता महत्वपूर्ण घटनाक्रमबाट गुज्रिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology