९ वैशाख, काठमाडौ- त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत बिहिवार भएको खेलमा नेपालले मलेसिया लाई ६९ रनले हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।
नेपालका लागि २१७ रन बनाउन करण केसीले १३ बलमा ७ छक्काको मदतमा ४५ रनको विष्फोटक इनिङ खेलेका थिए । आसिफ सेखले ३२ बलमा ४२ कुशल भुर्तेल १२ बलमा १६ र ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रन जोडे । दिपेन्द्रसिंह ऐरीले ३३ कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रनको योगदान गरेका थिए ।
बलिङतर्फ मलेसियाका लागि फित्री शाम, अनवर रहमान र शयद अजिजले दुई–दुई विकेट लिए भने मुहम्मद वाफिकले एक विकेट लिए ।
यस्तै २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले समान ३-३ विकेट लिए । सुसान भारीले १ विकेट लिए । करण केसीले ४ ओभरमा २७ रन खर्चिए पनि विकेट लिन सकेनन । 
बिहिवार भएको खेल संगै प्रतियोगितामा लीग चरणका सबै खेल सकिएको छ । यो संगै चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ । अब नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससंग खेल्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology