भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले बुधबार भैरहवामा सम्पन्न पार्टीको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्नुको कारण स्पष्ट पारेकी छन् । बैठकमा उपस्थित नभएको विषय मिडिया र सामाजिक सञ्जालमा उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट बुबा आमा कार दुर्घटनामा परेको कारणले काठमाडौँ उपत्यका छोड्न नसकेको स्पष्ट गरेकी हुन् । बैठकमा सहभागी हुन नसक्नुको कारण संसदीय दलको नेता, उपनेता, कार्यवाहक सभापति, प्रमुख सचेतक लगायत सम्पूर्ण संसदीय दललाई अवगत गराएको उनले जानकारी दिइन् । काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सहभागिता जनाइरहेका उनले बताएकी छन् ।
उनले भनेकी छन् “म अमेरिकाको भ्रमणबाट नेपाल फर्कने बित्तिकै, करिब १५ -१८ दिन अगाडि मेरो बुवा र आमा दुवै जनाको कारमा ठूलो दुर्घटना भयो । कारको चारवटै एयरब्याग निस्कने गरी, रातिको समयमा त्यहाँका स्थानीय युवाहरूले कारको ढोका फोडेर बुवाआमालाई उद्धार गर्नुभएछ र प्रहरीले बुवाआमालाई अल्का अस्पताल पुर्याउनुभएको रहेछ । म अस्पताल पुगेर, आकस्मिक उपचारपछि थप उपचारको लागि बुवा आमालाई पाटन अस्पतालमा लगि भर्ना गरे र त्यहाँको एचडीयुमा करिब १० दिन राखेर उपचार गरी घर ल्याएको छु । बुवाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । आमाको छातीमा पाँचवटा करङ भाँचिएको र छातीमा रगत जमेको कारणले अझै पनि बेडरेस्टमा हुनुहुन्छ । म आफू नै सर्जन भएको कारणले मैले आफ्नै निगरानीमा घरमै अस्पतालको बेड र सामग्रीहरू राखेर आमाको थप उपचार गराइरहेको छु ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology