११ बैशाख एजेन्सी- इण्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोडेको छ । चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले मुम्बईमाथि ९ विकेटको सानदार जित निकालेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।
पञ्जाव किङ्ग्सले १३२ रनको लक्ष्य एक विकेटको क्षतिमा १४ बल अगावै पूरा गरेको हो ।
पञ्जावको जितमा कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए भने क्रिस गेलले ४३ रन जोडे । त्यस्तै, मयंक अग्रवाल २५ रनमा आउट भए । मुम्बईका राहुल चहरले एक विकेट लिए ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६३ रन बनाउँदा सूर्यकुमार यादवले ३३ रन बनाए । त्यस्तै, काइरोन पोलार्डले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङ तर्फ पञ्जाबका मोहम्मद समी र रवि विश्नोईले २/२ विकेट लिँदा दीपक हूडा र अर्शदीप सिंहले समान १/१ विकेट लिए ।
पाँच खेलमा दोस्रो जितसँगै पञ्जाव अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । पाँच खेलमा तेस्रो पटक हारका बाबजुद मुम्बई चौथो स्थानमा कायम छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology