११ वैशाख, काठमाडौ- त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधी नेपालले जितेको छ । शनिबार भएको फाइनलमा नेपालले नेदरल्यान्डलाई किर्तिमानी १ सय ४२ रनले हराउदै उपाधी जितेको हो ।
त्रिवि मैदान कीर्तिपुरमा नेरदल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले दुई खेलाडीको अर्धशतक मद्दतमा २३८ रन बनाएको थियो । यो नेपालले टी–२० क्रिकेट प्रतियोगितामा बनाएको अहिलेसम्मको धेरै रन हो ।
नेपालका कुशल भुर्तेलले ७७ रन बनाए । यस्तै कुशल मल्ल ५० तथा दिपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । राष्ट्रिय टिमबाट पहिलो अर्धशतक बनाउने क्रममा मल्लले २४ बलमा ५० रन पूरा गरे । आक्रामक ब्याट्स्म्यानको रुपमा परिचय बनाइरहेका मल्लले ५ छक्का र २ चौकासहित ५० रन बनाए ।
उनले नेपालका लागि दोश्रो छिटो अर्धशतक बनाएका हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २१ बलमा मलेशियासँग अर्धशतक बनाएका थिए ।
कुशल भुर्तेलले ७७ रन बनाउने क्रममा ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । उनले यो प्रतियोगिताका पाँचमध्ये चार खेलमा अर्धशतक बनाए । उनले यहि प्रतियोगितामा डेब्यु गरेका हुन् ।
बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोइसेभिएनले दुई र सेबास्टिएन ब्राटले एक विकेट लिए ।
लगत्तै २ सय ३९ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेदरल्याण्डले १७ दशमलव २ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमात्रै बनाउन सक्यो । नेदरल्याण्डका लागि तीनजना खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके । म्याक्स ओदोउदले २० रन बनाए भने कप्तान पिटर सेलारले १३ रनको योगदान गरे । बाकी खेलाडिले खासै राम्रो प्रदर्शन गर्न सकेनन ।
नेपालका लागि बलिङतर्फ करन केसीले तीन, सन्दीप लामिछाने र कमलसिंह ऐरीले दुई-दुई तथा अविनाश बोहरा र सोमपाल कामीले एक-एक विकेट लिए ।
नेपालले टी २० अन्तराष्ट्रिय क्रीकेटमा निकालेको यो जित रनका आधारमा अहिलेसम्म कै ठूलो हो । यसअघि सन् २०१९ मा भुटानलाई नेपालले १ सय ४१ रनले हराउँदा उक्त जित सर्वाधिक फराकिलो रनको जित थियो । जुन नेपालले शनिबार नेदरल्याण्ड्सविरुद्ध १ सय ४२ रनले हराएर तोड्न सफल भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology