देवदह । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देवदहले हालैको जेनजी आन्दोलनमा आफ्नो पार्टी कार्यालयमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । सोमवार पत्रकार भेटघाट गर्दै नगर पार्टी अध्यक्ष दिपक न्यौपानेले आन्दोलनमा घुसपैठ गरी अराजक तत्वले सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पूर्याएको बताए ।
'पार्टी कार्यालयको भवनमा आगजनी भएको छ, जसको पुनर्निर्माणमा ४० लाख बढी खर्च हुने देखिन्छ ।' अध्यक्ष न्यौपानेले भने, 'दराज, टेबल–कुर्सी, प्लाष्टिक कुर्सी, पंखा, कम्प्युटर, झ्याल-ढोका, प्रिन्टर र पार्टीका महत्त्वपूर्ण दस्तावेज पूर्ण रूपमा क्षति गरिएको छ, जसको मूल्य करिब ८ लाख पर्ने देखिन्छ ।'
जेनजी आन्दोलनका एजेन्डा र पार्टीका एजेन्डा एउटै भएको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कायम गर्न जरुरी रहेको बताए । 'जे हाम्रो पार्टीले संसदको रोस्टम र सार्वजनिक प्लेटफर्ममा भनिरहेका थियौं, त्यही माग जेनजी आन्दोलनले गरेको छ' उनले भने । उनले आन्दोलनमा आफ्नो पार्टीका कार्यकर्ता कोही पनि सहभागी नभएको उल्लेख गर्दै कोही सहभागी भएको पाइए पार्टीले कारवाही गर्ने र प्रशासनलाई कारवाहीको लागि आग्रह गर्ने बताए ।
उनले आन्दोलनमा जथाभावी गोलि चलाउने र कलिला बालबालिकाको ज्यान लिनेहरुमाथि छानविन गरी कानुनी कारवाही गर्न माग गर्दै आन्दोलनमा घुसपैठ गर्ने र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउनेलाई कारवाही गर्नुपर्ने धारणा राखे ।
पार्टीले आफ्नो कार्यालयमा भएको क्षतिको विवरण प्रहरीलाई बुझाइएको उनले बताए । पार्टीले कसैका विरुद्ध किटानी जाहेरी नदिने तर प्रशासनले सहयोग मागेमा सहयोग गर्ने पार्टीले जनाएको छ ।
माओवादी अध्यक्ष न्यौपानेले जेनजी भाइबहिनीलाई धम्क्याउने र कुटपिट गर्ने कार्य भैरहेको सूचना पाएको उल्लेख गर्दै त्यस्ता कार्य रोकी सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन् ।
पत्रकार भेटघाटमा पार्टी नेता यमलाल तिवारी, नगर उपाध्यक्ष गंगा विक, कोषाध्यक्ष अमृत बहादुर फुल्लेल, सदस्य गोपाल गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology