दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान अझै कार्यान्वयनकै चरणमा रहेको भन्दै यसको ईमानदारीपूर्वक कार्यान्वयनमा जोड दिएका छन् ।
संविधान दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा सभामुख घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प संविधान २०७२ ले लिएको स्मरण गराए । संघीय संरचना संघीय शासन प्रणालीको मुटु र मूल मर्म भएको उल्लेख गर्दै उनले कार्यान्वयनमा देखिएका कार्यशैलीगत कमजोरी सुधार्दै प्रदेशलाई सबल बनाउनुपर्नेमा जोड दिए ।
"संघीयता कार्यान्वयनको क्रममा देखिएका हाम्रा कतिपय कार्यशैलीगत कमीकमजोरीका कारण प्रदेश संरचनाप्रति प्रश्न उठेका छन्," सन्देशमा उल्लेख छ, "यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ र संविधानको भावना तथा जनताको चाहना अनुसार संघीयता कार्यान्वयनमा सबै गम्भीर र जिम्मेवार बन्नुपर्छ ।"
सभामुख घर्ती मगरले संविधान कार्यान्वयनको कमीकमजोरीलाई सच्याउँदै आगामी अभ्यासका माध्यमबाट यसको परिमार्जन हुने विश्वास व्यक्त गरे । उनले संविधानको रक्षा र कार्यान्वयनमा राज्य संरचना मात्र नभई सम्पूर्ण नेपाली जनता एकाकार भएर लाग्नुपर्ने बताए ।
संविधानसभा मार्फत निर्माण गरी जारी गरिएको नेपालको संविधान आज १० वर्ष पूरा भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology