देवदह । नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीले दीप प्रज्वलन गरेको छ । १० औं संविधान दिवसको अवसरमा पार्टीले रुपन्देहीको देवदह खैरेनी चोकमा दीप प्रज्वलन गरेको हो ।
सो अवसरमा बोल्दै पार्टीका लुम्बिनी प्रदेश सदस्य गोविन्द पंगेनीले माओवादी केन्द्रले संचालन गरेको जनयुद्धका कारण नेपालमा संविधान जारी भएको दावी गरे । उनले नेपालका राजनैतिक दलका नेताका कारण अहिलेको अवस्था आएको बताउदै जेनजीहरुले उठाएका मुद्दा अनुसार सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।
'जेनजीले अहिले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्धा माओवादी केन्द्रले विगतदेखि नै उठाउदै आएको हो ।' उनले भने, 'सरकारमा रहेका नेताहरुको दम्भका कारण देश ध्वस्त भएको छ । अब सम्पूर्ण राजनीतिक दलहरु एकतावद्ध भएर लाग्नु पर्नेछ ।'
माअेवादी केन्द्र देवदह नगर कमिटीका अध्यक्ष दिपक न्यौपानेको अध्यक्षतामा दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology