सिन्धुपाल्चोक । जेनजीको एक समुहले सिन्धुपाल्चोकको भोटेकोशीमा सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर लिइएको छ ।
भोटेकोशी पावर कम्पनीको शेयर पाउनुपर्ने भन्दै एक महिनादेखि बन्द रहेको आन्दोलन रोक्न कम्पनीले १० प्रतिशत शेयर दिने सहमति गरिएको हो ।
आयोजनाका प्रतिनिधि, आन्दोलनरत भोटेकोशी जेनजी समूह, गाउँपालिका जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूबीचको सर्वपक्षीय बैठकले १० प्रतिशत निःशुल्क शेयर प्रदान गर्नेसहितको ५ बुँदे सम्झौता भएको छ ।
सम्झौता अनुसार भोटेकोशी पावर कम्पनीले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा गरिएको जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड कम्पनीलाई दिने उल्लेख गरिएको छ ।
सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् । प्रतिकित्ता एक सय रुपैयाँ दरका शेयर स्थानीयले लिन पाउने व्यवस्था गर्दै आवश्यक कर्जा बैंकमार्फत उपलब्ध गराउने र सो कर्जा आगामी एक वर्षभित्र आयोजनाको लाभांशबाट फछ्यौट गर्ने प्रावधानमा सहमति जुटाइएको छ ।
भोटेकोशी पावर कम्पनीले यसअघि स्थानीयलाई २०७१ पौष ९ गते नि: शुल्क ६ प्रतिशत शेयर दिने सहमति गरेकोमा अहिले स्थानीय जेनजी समुहले अवरोध गरेपछि त्यसलाई बढाएर १० प्रतिशत कायम गर्ने सहमति भएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै सहमतिमा टेकोशी पावर कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष दिँदै आएको ४९ लाख सहयोग रकम बढाएर दुई करोड ५० लाख पुर्याउने बताइएको छ । भदौ २३-२४ गतेको जेनजी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’को नाममा स्थानीयको एक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर निःशुल्क मागेको थियो ।
कम्पनीले १० प्रतिशत शेयर दिन तयार भएको तर निःशुल्क भने दिन नसकिने बताएको थियो । त्यसपछि एक महिनासम्म आयोजना बन्द भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology