बुटवल । अर्थराजनीतिक विश्लेषक एवम् अर्थविद् मनिकर कार्कीको पुस्तक ‘अर्थदृष्टि’को बुटवलमा परिचर्चा गरिएको छ । पुस्तकमाथि चर्चा गर्दै प्राध्यापक डाक्टर बावुराम ज्ञवालीले पुस्तकमा समावेश गरिएका विषयवस्तु सबै पाठकले बुझ्ने गरी सरल एवम् सरस रहेकोले सबैका लागि उपयुक्त अध्ययन सामग्री हुनसक्ने बताए ।
उनले देशको विकासका लागि सबैभन्दा पहिले स्पष्ट आर्थिक दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सबैले निजी क्षेत्रको मनोवल उच्च राख्न जरुरी रहेको कुरामा जोड दिए । उनले पुस्तकमा आर्थिक विकासका लागि निजी क्षेत्रको आवश्यकतालाई उजागर गरेको र आर्थिक रुपान्तरणका लागि नयाँ मोडेलसमेत प्रस्ताव गरिएको हुँदा यो नीति निर्माताहरुले यो पुस्तक अध्ययन गर्नका लागि सुझाव समेत दिए ।
अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका मुख्य चुनौतिको पहिचान र दीर्घकालीन समाधानका लागि आयातित विचार नभई मौलिक विचार र मोडललाई प्राथमिकताका साथ अभ्यासमा लैजानुपर्ने बताए । नेपाली अर्थतन्त्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा यो पुस्तक सन्दर्भ सामग्री दस्तावेज बन्नेमा कुनै शंका नभएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले राज्यले स्थानीय उद्यमीलाई नेपाल मै लगानी र श्रम गर्ने वातावरण बनाउन ढिलाइ गर्दा युवा उद्यमी उत्पादन गर्न नसकिएको बताए । नेपाली उद्योगले विगतदेखि नै कच्चापदार्थ , जनशक्ति र नीतिगत समस्या झेलिरहेका कारणले वर्तमान पुँजी पलायनमा वृद्धि आएको बताए ।
वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईंले पुस्तकले उठान गरेका सबालमा सुक्ष्म विश्लेषण गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले देशमा उत्पन्न सामाजिक आर्थिक राजनीति संकटलाई समाधान गर्ने र निराशमा रहेको निजि क्षेत्रलाई उत्साहित गर्ने गरी लेखकहरु प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
प्राध्यापक राजेन्द्र लम्सालले आर्थिक विकास र समृद्धि हासिल गर्ने सवालमा पुस्तकले वर्तमानको अन्यौलतालाई नयाँ दिशादिन समेत सफल भएको बताए । कार्यक्रममा कृष्ण पाण्डे, सञ्जिव भण्डारी, गणेश घिमिरे, नवीन सुनुवार, सन्देश चापागाईंलगायतले पुस्तकमाथि चर्चा गर्दै लेखकलाई सुझाव दिए ।
पुस्तकका लेखक कार्कीले अर्थदृष्टिको दोस्रो संस्करणमा अर्थशास्त्रीय तथ्याङ्कहरु अध्यावधिक गरिनुका साथै समय र सन्दर्भ अनुसारका केही तथ्य र विश्लेषण थप गरिएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology