काठमाडौँ । नेपालले ओमानलाई पराजित गरेको छ । आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत बिहिवार सुपर सिक्सको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै ११३ रन बनाएपछि खेल नेपालको पोल्टामा परेको हो । ओमानका लागि विनायक शुक्लाले सर्बाधिक ३२ रन बनाए भने मोहमद नदीमले २५ रन बनाएका थिए । त्यस्तै कप्तान जतिन्दर सिंहले १४ रन र आर्यन बिष्टले ११ रन मात्र जोड्न सफल भए ।
त्यस्तै नेपाली बलर गुलशन झाले सर्बाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले एक विकेट हात पारे।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २४ रन तथा गुलशन झाले १८ रनको योगदान गरे । त्यस्तै मोहमद आदीलले १६ रन बनाएका थिए ।
ओमानका बलर नदीम खानले ४ विकेट लिए भने सुफयान मेहमूद र जितेन रमानान्दीले २-२ विकेट हात पारे ।
यो जितपछि नेपाल ४ खेलमा ८ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ओमान ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल र ओमानले टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । अब नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रवार सामाओविरुद्ध खेल्ने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology