बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रण व्यवस्थापनमा जोड दिएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्रालयले कोभिड व्यवस्थापन, जिल्ला अस्पताल सुदृढिकरण, जनशक्ति व्यवस्थापन तथा विपन्न वर्गलाई शितलहरबाट बचाउन बजेट निकासा गरेको हो ।
मन्त्रालयले कोभिड कोषको लागि १० करोड, कोभिड विशेष जनशक्ति र व्यवस्थापनको लागि ८ करोड ३५ लाख, जिल्ला अस्पताल सुदृढिकरणको लागि ११ करोड, लुम्बिनी प्रादेशिक अस्पताल जनशक्ति, ए ग्रेड एम्बुलेन्स खरिद र व्यवस्थापनलाई ५ करोड, लुम्बिनी प्रदेशका सबै जिल्लाका विपन्न नागरीकलाई शितलहरबाट बचाउन जिल्ला प्रशासन कार्यालयबाट भुक्तानी हुने गरी ३० लाख सहित ३४ करोड ६५ लाख जनताको स्वास्थ्य व्यवस्थापनमा खर्च गर्न लुम्बिनी सरकारले बजेट निकासा गरेको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बताएका छन् ।
जनताको स्वास्थ्यमा मुख्य प्राथमिकता दिएको मन्त्री खड्काले बताए । फागुन महिनासम्म पुग्ने गरि कोभिड नियन्त्रणमा विशेषमा खटिएका जनशक्तिको पारिश्रमिक तत्काल उपलव्ध गराउने गरी बजेट निकासा गरिएको मन्त्री खड्काको भनाई छ ।
प्रदेश स्थायी राजधानी राप्ती गाँउपालिका भालुवाङमा प्रदेश सरकारको गुरु योजना निर्माण, प्रदेश सभा भवन निर्माण, प्रदेश सभा सचिवालय व्यवस्थापन लगाएतका निर्माण कार्यको लागि यस अघि नै तेत्तिस करोड बजेट निकासा गरेको मन्त्री खड्काले जानकारी दिए ।
बजेटको प्रभावकारी कार्यान्वयनबाट कोभिड नियन्त्रणमा प्रभावकारीता आई स्वास्थ्य सेवा सुदृढीकरण हुनुका साथै प्रदेश राजधानी व्यवस्थापनमा उल्लेख्य उपलब्धी हुने अपेक्षा लिइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology