रिया बस्नेत, रुपन्देही । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेकाे छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागी प्राविधिकहरूले अन्तिम प्रशिक्षण लिइरहेका छन् ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले माघ ०७१ मा शिलान्यास गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुस ०७४ भित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर बिचमा ०७२ को भूकम्प र मुअब्जाकाे बिषयमा भएको विवाद र मधेस आन्दोलनका कारण काम गर्ने वातावरण तयार नहुँदा निर्माणको म्याद सरेको थियो । त्यसैगरी, विमानस्थल निर्माण गर्ने क्रममा आवश्यक पर्ने नदीजन्य पदार्थ समयमै नपाउँदा पनि निर्माण कार्य तिब्र गतिमा हुन सकेकाे थिएन ।
विमानस्थल निर्माण कम्पनी नर्थ साउथ र स्थानीय ठेकेदार कम्पनीबीचको आन्तरिक समस्याले पनि लामो समय विमानस्थल निर्माणको काम प्रभावित भएको थियो । पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिवी १) मा सम्झौता भएर निर्माण कार्य २०७१ माघ १ देखि सुरु गरेको थियो । तर, ०७८ माघ सम्म आइपुग्दा कामकाे तिब्रता बढेकाे छ । ७ बर्षमा निर्माण सम्पन्न भई छिट्टै विमानस्थल सञ्चालनमा आउने आशा पलाएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशमा पर्यटनको मुख्य आधार मानिएको छ । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ६ अर्ब २२ करोड ५१ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर, समयमै निर्माण कार्य सम्पन्न हुन नसकेपछि आयोजनाले पटक पटक म्याद थप गरेकाे थियाे । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ।

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण अवधिकाे साताैँ बर्षमा निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ । बिमानस्थलमा एरो थाईको ग्रुपले क्यालिब्रेशन फ्लाईटको तयारीमा जुटेको छ। फागुन ९ गते सोमवार क्यालिब्रेशन फ्लाईटको मिती तोकेको छ । एरो थाईका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले अहिले एरोथाईका प्राविधिकहरुले विमानस्थलमा ग्राउण्ड चेक, बिजिलिटि चेक, इलोक्ट्रिक एवं इलोक्ट्रोनिक मेसीनहरुको चेकजाँचका साथसाथै नेपाल नागरिक उड्डयनका नेपाली प्राविधिक इन्जिजियर कर्मचारीहरुलाई दुईसातादेखि तालिम दिने कार्य जारी रहेको छ । यतिवेला मौसम प्रतिकुलका कारण विमानस्थलमा परिक्षणमा केहि समस्या देखिएको र मौसममा सुधार आएसंगै एरो हवाईजहाज नेपाल आएर विशेष परिक्षण गरिने श्रेष्ठले बताए ।
एरो थाईको क्यालिब्रेसन फलाईटपछि नेपाल एयरलाईन्सको ठूलो बिमानबाट बिमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन वा न्युनतम ४२ दिनपछि बिमानस्थलमा नियमित उडानहरु गरिनेछ । कुल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग रहेकाे र ठूला जहाजहरु पूर्व र पश्चिमबाट दोहोरो उडान एवं अवतरण गर्नसक्ने छन्। त्रिभूवन विमानस्थल काठमाण्डौको वैकल्पीक अन्तराष्ट्रिय विमानस्थलका रुपमा यस गौतम बुद्ध विमानस्थलको क्षमता एवं भौतिक विस्तार गरिएको आयोजना प्रमुख प्रेबेश अधिकारीले बताए ।
विमानस्थल दुई चरणमा बनेको छ । आइसिवी–१ र आइसिवी–२ गरी विमानस्थल निर्माण भएको छ । आइसिवी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका छन् । आइसिवी–२ अन्तर्गत हवाईजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भएको छ । विमानस्थलको आईसीवी १ अन्तर्गत पूर्वाधार निर्माणको काम ६ अर्ब २२ करोडमा चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ भने आइसीबी २ अन्तर्गत करिब ५० करोडमा उपकरण जडानको ठेक्का थाइल्याण्डको एरो थाई कम्पनीले लिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो (आइसिबी–१ अन्तर्गत छ अर्ब ८२ करोडको । दोस्रो अन्तर्राष्ट्रिय आइसिबी–२ अन्तर्गत रु ५० करोडको काम र तेस्रो २२ अर्ब ४० करोडको मुआब्जा वितरणको काम सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलव ४ र एडिबीको ६२ दशमलव ६ प्रतिशत लगानी रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology