काठमाण्डाै । सरकारले चुनावको मिति घोषणामा ढिलाइ गर्दा निर्वाचन आयोगलाई मतदाता नामावली अद्यावधिक लगायतका काममा चाप बढ्ने भएको छ।
मिति घोषणा हुनुभन्दा पहिलेसम्म नामावली संकलन गर्नुपर्ने कानुनी व्यवस्था रहेको र त्यसपछि मात्रै नाम अद्यावधिक गर्नुपर्ने भएकाले त्यो काम सुरु गर्न नपाएको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावली संकलन, मतदानस्थलहरुको निर्धारण, सम्बन्धित निकायसँगको समन्वयको काम नियमित भइरहे पनि मिति घोषणा नहुँदा अरु चुनावी प्रक्रिया अघि बढाउन नपाएको बताए । मिति घोषणामा ढिलाइ हुँदा आयोगलाई समयमै चुनावी प्रक्रिया अघि बढाउन चुनौती थपिएको बताए
अघिल्लो वर्ष पुसदेखि मतदाता नामावली अद्यावधिक भएको छैन । यसबीचमा झण्डै १५ लाख नयाँ मतदाता थपिएकाले त्यसको अद्यावधिक गर्न समय लाग्ने उहाँले बताए ।
यस्तै पालिकासँग समन्वयदेखि चुनावका अरु प्रक्रिया सुरु गर्न पनि पहिले मिति घोषणा हुनुपर्ने उनको भनाइ छ ।
गएको मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो ।
प्रधानमन्त्री देउवाले छिटै निर्णय गर्ने बताए पनि अहिलेसम्म मिति घोषणा भैसकेको छैन । यसबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्ने अपेक्षा छ ।
हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गर्छ । तर अघिल्लो बिहीबार मन्त्रिपरिषद् बैठक बसेन । भोलि बस्ने मन्त्रिपरिषद बैठकले मिति घोषणा गर्न सक्ने आयोगले विश्वास गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology