जनकपुरधाम । नेपाल जेसीजको वर्ष २०२६ का लागि जीवन कार्कीको अध्यक्षतामा'नयाँ राष्ट्रिय नेतृत्व चयन भएको छ । जनकपुरधाममा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट रामेछाप जेसीजका युवा नेता कार्की नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् ।
चार उम्मेदवारबीच भएको प्रतिस्पर्धामा कार्की विजयी भएका हुन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको नेपाल जेसीज आन्दोलनको नेतृत्व अब कार्कीको काँधमा पुगेको छ।
साधारण पारिवारिक पृष्ठभूमिबाट उठेर सफल व्यवसायीका रूपमा स्थापित कार्कीले नेपाल तथा अन्तर्राष्ट्रिय तहका विभिन्न तालिम र एकेडेमीहरूमा सहभागिता जनाउँदै नेतृत्व विकासमा आफूलाई सशक्त बनाउँदै आएका छन् । विगतमा सम्हालेका जिम्मेवारीहरूमा उनले कठिन परिस्थितिमा समेत कुशल नेतृत्व र व्यवस्थापन क्षमता प्रमाणित गरिसकेका छन् ।
नव निर्वाचित अध्यक्ष कार्कीले वर्ष २०२६ का लागि ‘Aim, Act, Achieve’ लाई मुख्य कार्यदिशाका रूपमा अघि सारेका छन् । लक्ष्यबिनाको सक्रियताबाट उपलब्धि सम्भव नहुने उल्लेख गर्दै उनले योजनाबद्ध कार्यान्वयन र ठोस परिणाममा केन्द्रित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उनि नेतृत्वको प्रमुख कार्यक्रम ‘Project Sankalpa 2026’ रहेको छ, जसको मूल उद्देश्य एकताको संकल्प र रूपान्तरणको यात्रा हो। उक्त परियोजनामार्फत नेपाल जेसीज अभियानलाई समाजमा अझ प्रभावकारी र दिगो बनाउने लक्ष्य राखिएको बताउदै उनले निर्णय प्रक्रिया अनुमानमा होइन, डाटामा आधारित प्रणालीमार्फत अघि बढाइने जनाएका छन् ।
यसैगरी कार्किको कार्यकालमा सदस्य केन्द्रित सेवाका लागि ‘Hello Jaycees’ प्लेटफर्म सञ्चालन गरिनेछ, जसबाट सदस्यका गुनासा, सुझाव र आवश्यकताहरू सिधै सुन्ने र समाधानतर्फ अघि बढ्ने व्यवस्था गरिनेछ।
कार्यक्रमअन्तर्गत MIS Upgrade, AI Integration, Cyber तथा Digital Safety Training लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।
नेपाल जेसीज २०२६ को नेतृत्वबाट युवामैत्री, प्रविधिमैत्री र परिणाममुखी अभियान अझ सशक्त बन्ने अपेक्षा गरिएको जेसीज अगुवाहरुले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology