लाटो बस्ती
कोलाहल बनेको छ गाउँ
रणभुमी बनेको छ शहर
चुरिफुरीमा नारी निमोठ्ने
दादागिरीमा स्वास्नी पिट्ने
भुसतिघ्रेहरुको भरमार छ यहाँ
नझुक्किनुस महोदय
यो हो लाटाहरुको बस्ती ।
बहिनिको इज्जत लुटिदा बोल्दैनन
देशको सिमा मिचिदा बोल्दैनन
अझ भनौं त
सामन्तको अगाडी पुच्छर लुकाएर बस्छ बोल्दैनन
न्याय मर्छ
कानुन नांगिन्छ
अपराध झांगिन्छ ।
बरु ढुङ्गो बोल्ला
काँडाले सिँगौरी खेल्ला
तर यहाँ
मान्छे फिटिक्कै बोल्दैन
महोदय
यो हो लाटाहरुको बस्ती ।
सायद
अरुको आदेशमा बोल्ने बानी परेको छ यिनिहरुलाई।
जिन्दावाद भन्न जुट्छन
मुर्दावाद भन्न उठ्छन
सित्तैमा सुरपानी चढाउन पाए
छानोमा आगो झोस्न तम्सन्छ
मानोमा लात्तो हान्न झम्टिन्छ
झरिबादल
दिनरात
आदेश कै काममा मुन्टिन्छ
नझुक्किनुस महोदय
यो हो लाटाहरुको बस्ती।
यो हो लाटाहरुको बस्ती ।
- रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology