रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताएका छन् ।
सैनामैना व्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव-२०८२ को सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवर्द्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताए । मेला–महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले `मेला-महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नु हुँदैन । मेला-महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्छ ।´भने ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैं उभिने स्पष्ट पारे । उनले भने,`प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षा कवच बनेर उभिएको छ । व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौं । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको छ । उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन जरुरी छ ।´
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology