भैरहवा । नेपाल प्रहरी श्रीमती सङ्घले रूपन्देहीस्थित सिद्धार्थ बालगृहमा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना कार्कीले अनाथ बालबालिकालाई सेवा गर्ने अवसर पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताइन् । उनले समाजमा मौन रूपमा सेवामा जुटिरहेका सिद्धार्थ बालगृहप्रति नमन व्यक्त गर्दै बालबालिकाहरू राष्ट्रका भविष्य भएकाले उनीहरूको सुरक्षित र उज्ज्वल भविष्य सुनिश्चित गर्न सङ्घ सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरिन् ।
अध्यक्ष कार्कीले नेपाल प्रहरी श्रीमती सङ्घले महिला प्रहरी तथा उनीहरूको परिवारको हितका लागि विभिन्न योजनामार्फत काम गर्ने लक्ष्यसहित कार्यक्रमहरू अघि बढाइएको उल्लेख गरिन् ।
नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेशकी अध्यक्ष पूजा खत्रीले प्रहरीले समाजसँग सहकार्य गर्दै काम गर्ने परम्परालाई निरन्तरता दिँदै श्रीमती सङ्घ पनि सोही भावना अनुसार अघि बढिरहेको बताइन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक जनक शाहीले नेपाल प्रहरी श्रीमती सङ्घ समाजको अभिन्न अङ्गका रूपमा सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology