देवदह । रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले कृषि र पर्यटनको विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।
तिलोत्तमा नगरपालिका–१५ र १६ का विभिन्न टोलबस्तीमा सोमबार घरदैलो गर्दै खत्रीले क्षेत्रको आर्थिक समृद्धिका लागि कृषक र पर्यटन व्यवसायसँग जोडिएका योजनालाई अघि बढाउने प्रतिबद्धता जनाए । क्षेत्र नम्बर–१ मा कृषि उत्पादन र पर्यटनको प्रचुर सम्भावना रहेकाले स्थानीय आवश्यकताअनुसार कार्यक्रम ल्याइने उनले बताए ।
घरदैलोका क्रममा मतदाताले स्थानीय विकासका लागि स्थायी र क्षेत्रसँग परिचित उम्मेदवार आवश्यक रहेको भन्दै खत्रीलाई विजयी बताएको उनको सचिवालयले जनाएको छ । कृषक, व्यवसायी तथा युवासँग जोडिएका नेता भएकाले विकासका कामले गति लिने विश्वास मतदाताले व्यक्त गरेको उनी निकटको दावी छ ।
सो अवसरमा खत्रीले आम मतदाताको सुझावलाई आधार बनाएर विकास निर्माणका योजना तय गर्ने र सामुदायिक पूर्वाधार, रोजगारी सिर्जना तथा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिने बताए ।
घरदैलो अभियान क्षेत्र नम्बर–१ का विभिन्न पालिकामा जारी रहेको निर्वाचन परिचालन सचिवालय समिति संयोजक विजय गुरुङले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology