देवदह । लुम्बिनी प्रेस क्लबका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार कमल रायमाझीलाई भारतको सञ्चारमाध्यम जि-न्यूजले सम्मान गरेको छ । उत्तर प्रदेशको महाराजगञ्जमा आयोजित ‘जि उत्तर प्रदेश–उत्तराखण्ड, उत्तर प्रदेश की बात’ कन्क्लेभमा उनलाई सम्मान गरिएको हो ।
कार्यक्रममा भारत सरकारका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरी, विधायकहरू, सञ्चारकर्मी, राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । जि-न्यूजका सम्पादक रमेश चन्द्रले रायमाझीलाई सम्मान गर्दै नेपाल–भारत सीमा क्षेत्रको औद्योगिक, धार्मिक, सांस्कृतिक तथा स्वास्थ्य क्षेत्रको विकासमा सञ्चार क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे ।
रायमाझी विगत डेढ दशकदेखि राससमा सक्रिय रहँदै सीमा क्षेत्रका मुद्दा निरन्तर उठाउँदै आएका छन् । उनी लुम्बिनी प्रेस क्लबका अध्यक्ष हुनुका साथै ‘लुम्बिनी खबर’ पत्रिकाका सम्पादक पनि हुन् ।
जि-न्यूजका महाराजगञ्ज प्रमुख अमित त्रिपाठीले रायमाझीले सञ्चार क्षेत्रमार्फत नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिका सराहनीय रहेको बताए।
सम्मान ग्रहणपछि रायमाझीले केन्द्रीय वित्त राज्यमन्त्री चौधरीसमक्ष सीमावर्ती क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धिका लागि ‘क्रस–बोर्डर जर्नालिज्म एकेडेमी’ स्थापना गर्न आग्रह गरे । बौद्ध सर्किट प्रवर्द्धनका लागि भारतीय केन्द्रीय सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।
त्यस्तै भैरहवा विशेष आर्थिक क्षेत्रमा भारतीय लगानी भित्र्याउन सहजीकरण, आईसीपी पूर्ण सञ्चालन गरी रेल सेवा विस्तार र सीमापार पर्यटन प्रवर्द्धनका लागि विशेष योजना ल्याउन उनले अनुरोध गरे । लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई समेटेर बौद्ध सर्किटको समग्र विकास गर्न पहल गर्नुपर्ने उनको भनाइ थियो ।
राज्यमन्त्री चौधरीले प्रस्ताव सकारात्मक रहेको जनाउँदै सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका पूर्व अध्यक्ष नरेश केसी, कोषाध्यक्ष विष्णु भट्टराई, सह–कोषाध्यक्ष रविन्द्र प्रताप गुप्ता र पूर्व कोषाध्यक्ष राधेश्याम विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।
नेपाल–भारत सीमा क्षेत्रमा सक्रिय पत्रकारितामार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याएको भन्दै रायमाझीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology