देवदह । ग्रीनप्लाण्ट आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट विद्यार्थीलाई नगदसहित पुरस्कृत र सम्मानित गरेको छ । बुधवार विद्यालयमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई जनही ५०-५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा कक्षा १२ मा नगर प्रथम हुने एक विद्यार्थीलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । यस्तै पवित्रा देवी सुबेदी अक्षयकोषबाट कक्षा ९ का छात्र प्रशान्त सापकोटालाई २० हजार रुपैयाँ प्रदान गरिएको छ भने पूर्व शिक्षक मिलन केसीले आफ्नो जन्मदिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले उपलब्ध गराएको १० हजार रुपैयाँ कक्षा ९ कै छात्र कुशल गैरेलाई प्रदान गरिएको छ ।
त्यसैगरी विभिन्न कक्षामा उत्कृष्ट हुने, खेलकुदसहितका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई समेत विद्यालयले पुरस्कृत गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ भैरहवाका प्रमुख विष्णु प्रसाद पन्थीले विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको उपलब्धि सराहनीय रहेको बताए । वार्षिक नतिजा तथा अतिरिक्त क्रियाकलापमा जिल्लाकै उत्कृष्ट बन्न सफल भएको उल्लेख गर्दै उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले सञ्चालन गर्दै आएका कार्यक्रम प्रशंसनीय रहेको बताए ।
विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त मेहनतका कारण विद्यार्थी उत्कृष्ट बन्न सफल भएको उल्लेख गर्दै उनले देशका लागि कर्मनिष्ठ तथा असल नागरिक उत्पादन गर्ने खालको शिक्षा चाहिएको बताए । प्रतिभाशाली जनशक्ति पलायन रोक्न पाठ्यक्रम परिमार्जन आवश्यक रहेको बताउँदै उनले अभिभावकले घरमै पनि अध्ययनमा प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।
विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल राजिव सापकोटाले विद्यार्थी संख्याभन्दा शैक्षिक गुणस्तरमा विद्यालयले ध्यान दिएको बताए । विज्ञान प्रविधि, होटेल म्यानेजमेन्ट तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जानकारी दिँदै प्रिन्सिपल सापकोटाले विद्यालयमा हाल १ हजार ४ सय ४९ विद्यार्थी अध्ययनरत रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य गुरु प्रसाद पौडेल, निर्देशक एक नारायण काफ्ले, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रम शिक्षक प्रभा कार्की र समिन गैरेको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology