देवदह । नेकपा एमाले रुपन्देही क्षेत्र नं १ का उम्मेदवार दधिराम न्यौपानेले राष्ट्रिय आवास कम्पनीको जग्गा समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य समेत रहेका न्यौपानेले देवदह क्षेत्रको घरदैलो कार्यक्रमका क्रममा ढेकावरमा स्थानीय बासिन्दासँग भेटघाट गर्दै लामो समयदेखि समाधान हुन नसकेको जग्गा समस्या प्राथमिकताका साथ अघि बढाउने बताएका हुन् ।
उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायत आधारभूत सेवामा योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै हालसम्म भएका विकास कार्यलाई निरन्तरता दिने बताए । उनले यसअघि आफ्नो पार्टीका उम्मेदवारले अघि सारेका र सम्पन्न हुन बाँकी रहेका योजनाहरू पनि सम्पन्न गर्ने बताए ।
भेटघाट कार्यक्रममा उनले भने, ‘समृद्ध देवदह र दिगो विकासका लागि एमालेको विजय आवश्यक छ ।’ घरदैलो कार्यक्रम अन्तर्गत शुक्रवार देवदह-१ का विभिन्न टोलमा भेटघाट गरिएको छ भने देवदह-११ र १२ मा पनि चुनावी भेटघाट सम्पन्न भएको पार्टीले जनाएको छ ।
स्थानीयवासीहरूले राष्ट्रिय आवास कम्पनीको जग्गा समस्या समाधान, रोजगारी सिर्जना, स्वास्थ्य सेवा विस्तार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न उम्मेदवार समक्ष माग राखिरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology