देवदह । राष्ट्रिय आवास कम्पनीको जग्गाको लालपुर्जा वितरणबारे देवदह नगरपालिकामा छलफल भएको छ । शनिवार नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलासहित सरोकारवालाहरुको बैठकले सहजरुपमा लालपुर्जा वितरणको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
बैठकमा बोल्दै नगर प्रमुख खरेलले आफुले आवास कम्पनीको जग्गाको लालपुर्जाको विषयलाई प्राथमिकतामा राखेको भएपनि आवास कम्पनी र माथिल्लो निकायका कारण समस्या हल हुन नसकेको बताए । 'हामी सधै बैठक बसेका छौं । राज्यका सबै निकायलाई झकझकाइ रहेका छौं । तर, वर्षौंदेखि भुमि भोगचलन गरिरहेकाहरुले लालपुर्जा नपाउने अवस्था विद्यमान छ ।' उनले भने, 'यसको निकास आवास कम्पनिले दिनुपर्छ ।'
छलफलमा बोल्दै कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले ९५ प्रतिशतसम्म शुल्क कम गरेर लालपुर्जा दिन सकिने बताए । त्यसको लागि मन्त्रीस्तरिय बैठकको निर्णय आवश्यक रहेको उल्लेख गर्दै उनले शहरी विकास मन्त्री सुनिल लम्सालले प्रभावित समूदाय र स्थानीय सरकारसंग छलफल गरेर प्रस्ताव तयार गर्न निर्देशन दिएको बताए ।
देवदहस्थित आवास कम्पनीको जग्गामा बसोबास गर्नेहरुको समूहका संयोजक प्रजापति सापकोटाले कम्पनीले बारम्बार झुक्याएको र लालपुर्जा दिन दिन आनाकानी गरेको आरोप लगाए । पुर्जा पाइन्छ भनेर झन्डै दुई करोड रुपैयाँ रकम स्थानीयसंग उठाएर पनि पुर्जा नपाएपछि रकम फिर्ता गरिएको तथ्य उनले सार्वजनिक गरे ।
बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, वडा अध्यक्ष दीपक नेपाल, दलबहादुर राकस्कोटीसहित रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा लगायतका दलका प्रतिनिधिहरुले सुझाव दिंदै समस्या हल गर्न आवास कम्पनीलाई आग्रह गरेका थिए ।
देवदह नगरपालिकाको वडा नं १, २, ११ र १२ मा आवास कम्पनीको जग्गामा बसोबास गर्नेहरु संख्या ठुलो छ ।
यस्तै प्रकृतिको जग्गा देशभर करिब २०० देखि २५० बिगाहा रहेको आवास कम्पनीले जनाएको छ । राष्ट्रिय आवास कम्पनीमा अर्थ मन्त्रालय, वन विभाग, महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्था मन्त्रालय लगायतको शेयर रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology