धकधई । रुपन्देही-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले रुपन्देहीको १ नम्बर निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न खेलकुद मैदान आवश्यक रहेको बताएका छन् । उनले खेलकुदको माध्यमबाट मात्र स्वस्थ जीवनको परिकल्पना गर्न सकिने भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए ।
चुनावी अभियानका क्रममा प्रचारप्रशार तथा मतदातासँग घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका बोहराले रुपन्देही–१ क्षेत्रका युवा, विद्यार्थी, खेलाडी र समग्र खेलकुदको विकासका लागि सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता भएको बताए । ‘यस निर्बाचन क्षेत्रमा हजारौं युवा, बिद्यार्थी र स्थानीय खेलाडी छन् । तर खेल्ने व्यवस्थित मैदान भने कतै छैन ।’ बोहराले भने, ‘यो क्षेत्रमा खेल मैदानको अभावले विभिन्न खेलकुद प्रतियोगीता आयोजना गर्नबाट बञ्चित हुन परिरहेको छ ।’
सुविधा सम्पन्न खेलकुद मैदानको अभावले कुनै खेल प्रतियोगीता सञ्चालन गर्नु परेमा भैरहवा कि त बुटवल पुग्नु पर्ने बाध्यता भएको तथा भैरहवा र बुटवल पुगेर खेलकुद प्रतियोगीताहरु सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ ।
खेलकुद मनोरञ्जनका लागिमात्र नभएर स्वास्थ्यका लागि समेत भएकोले खेलकुद विकासका लागि राज्यले लगानी गर्न अति जरुरी रहेको उनले बताए । बिगतमा यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले यस वारेमा कुनै योजना नल्याएकाले रुपन्देही–१ क्षेत्र खेलकुदमा पछी परेको उनले जनाए ।
स्थानिय तहहरुले पनि सुविधा सम्पन्न खेलकुद मैदान बनाउने बिषयलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको उनले बताए । ‘पछिल्लो समयमा सहरमा मात्र नभएर गाँउगाँउमा समेत खेलकुदको लोकप्रियता बढ्दो छ । वालवालिकादेखि युवाहरु खेलकुदको अभ्यासमा छन् ।’ बोहराले भने ‘खेल्ने मैदानको अभावले खेतमा गँहु र धान काटेपछि हातमा ब्याट र बल लिँदै क्रिकेट अनि बल लिँदै फुटवल खेल्ने गरेको देखिने दृष्यले उनिहरुमा खेलकुदप्रतिको अभिरुची कस्तो छ ? भन्ने प्रष्टै हुन्छ ।’
खेलमैदान बिना खेलकुद क्षेत्रको विकास हुनै नसक्ने र खेलकुदको माध्यमबाट लागु पदार्थ दुव्र्यसनमा फँसेका युवालाई समेत सुधार गर्न सकिने बताउँदै बोहराले स्थानिय तहहरुलाई समेत सकृय गराई सवैलाइ पायक पर्ने स्थानमा सुविधा सम्पन्न खेलकुद मैदान निर्माण गर्ने योजना आफ्नो रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology