परासी । नेपालमा बर्षेनि देखिने रासायनिक मलको समस्या समाधान गर्न र किसानहरूलाई समयमै मल उपलब्ध गराउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद नरेन्द्र कुमार गुप्ता सहभागी उक्त छलफलमा मलको वर्तमान अवस्था र आगामी दिनमा माग अनुसारको आपूर्ति व्यवस्थापनबारे छलफल भएको हो ।
छलफलले मलको बहावा (चुहावट) रोक्न र वास्तविक किसानसम्म पुर्याउन स्थानीय सरकारसँगको समन्वयलाई समेत प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । छलफलबारे जानकारी दिदै सांसद गुप्ताले भने, ‘खेतीको समयमा मल नपाउने पुरानो समस्या अब दोहोरिनु हुँदैन । देशभरका किसानलाई आवश्यकता अनुसारको मल समयमै उपलब्ध गराउन सरकारले ठोस कदम चाल्नुपर्छ ।’
छलफलमा सहभागी उद्योग मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले मलको आपूर्तिलाई सहज बनाउन मन्त्रालयले प्राविधिक र प्रशासनिक पक्षमा सुधार गर्न अवश्यक रहेको जानकारी दिए । उनले किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको र वितरण प्रणालीलाई थप पारदर्शी बनाउन आवश्यक रहेको समेत बताए ।
छलफलमा खेतीको सिजन सुरु हुनुअगावै किसानको हातमा मल पुग्ने सुनिश्चितता गर्ने, वास्तविक आवश्यकताको पहिचान गरी सोही अनुसारको परिमाणमा मल आयात र वितरण गर्ने र हालको आपूर्ति प्रणालीमा रहेका चुनौती र समस्याहरूलाई मध्यनजर गर्दै उचित व्यवस्थापन गर्ने बारे छलफल भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology