देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली साम्प्रदायिक भएको जनजाति अगुवाले आरोप लगाएका छन् । शुक्रबार एमाले निकट विद्यार्थीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लखन थापा नेपालको प्रथम सहिद नभएको अभिव्यक्ति दिएको विरोधमा आयोजित विरोध कार्यक्रममा बोल्दै जनजाति अगुवाहरूले ओली साम्प्रदायिक भएको आरोप लगाएका हुन ।
आइतबार देवदहमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जनजाति अगुवा दलबहादुर बिरकट्टाले पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हचुवाको भरमा सहिदको अपमान हुनेगरि साम्प्रदायीक अभिव्यक्ति दिएको बताए । ओली अभिव्यक्तिको विरुद्धमा देशभर आन्दोलन गरेर उनलाई आफ्नो भनाइ फिर्ता गराउन दबाब दिनुपर्नेमा जोड दिएका थिए ।
ओलीप्रति आक्रोशित हुँदै बिरकट्टाले भने "केपी ओलीले कहिले मधेसी समुदायलाई बिहारी भन्छन् त कहिले जनजातिहरू बाँदर हुन् भन्छन् । यो साम्प्रदायिक सोंचको अभिव्यक्ति हो ।"
त्यसैगरी, कार्यक्रममा बोल्दै जनजाति अगुवाहरू विजय गुरुङ, मीना श्रेष्ठ, प्रेम थापा लगायतले जिम्मेवार नेताले गैरजिम्मेवार, असंवैधानिक र साम्प्रदायिक अभिव्यक्ति दिएको भन्दै भनाई फिर्ता नलिए देशैभरी आन्दोलन गर्ने बताएका थिए ।
नेपाल युवा मगर संघ देवदह नगरसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा बिरोधसभापछि खैरेनी चोकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरिएको थियो । पुत्ला दहन गर्दै जनजाति युवाहरू ओली विरुद्ध नारावाजी गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology