बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका २ की गीता पाण्डेले निजी क्लिनिकहरुको कमाउ धन्दाका कारण अकालमै ज्यान गुमाएकी छन् । चिकत्सकहरुको लापरबाही तथा क्लिनिकहरु मानवता विर्सेर कमाउ धन्दामा लाग्दा गीताले ज्यान गुमाउनु परेको मृतकका परिवारले आरोप लगाएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर-९, इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा नियमित गर्भ परीक्षण गराउँदै आएकी गीताले उपचारकै क्रममा विभिन्न मेडिकल तथा क्लिनिकहरुमा घुम्दाघुम्दै मृत्यु भएको हो । नियमित गर्भ परीक्षण गराइरहेको खत्री नर्सिङ होममा गत चैत्र २७ गते भिडियो एक्सरे गरेर हेर्दा बच्चाको स्वास्थ्य अवस्था एवनर्मल (असाधारण) रहेको भनेर चिकित्सकले भनेपछि गीताले भर्ग पतन गराउने निर्णय गरेकी थिइन् ।
चिकित्सकको सल्लाह अनुसारनै बैशाख ५ गते श्रीमान्सहित बुटवल आएकी पाण्डे खत्री नर्सिङ होममा नियमित फलोअप तथा उपचारका लागि पुगेकी थिइन् । त्यहाँबाट थप उपचारका लागि उनलाई जोनल फार्मेसी बुटवलमै रिफर गरिएको थियो । उक्त फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीले गीताको गर्भपतन गराउन औषधि प्रयोग गरेका थिए ।
स्वास्थ्यकर्मीहरुले गीतालाई वैशाख ५ गते शनिबार साँझ १० बजे एक खुराक र अर्कोदिन विहानै ६ बजे थप औषधी खाएर आइतबार विहान १० बजे फार्मेसी आउनका लागि भनेका थिए । सोही अनुसार भोलीपल्ट थप उपचारका लागि जोनल फार्मेसी पुगेकी गीताले घर फर्किन भने पाइनन् ।
जोन फार्मेसीमा गीताको उपचार प्रक्रिया सफल नभएपछि उनलाई सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ समेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लगातार औषधि प्रयोगसँगै स्वास्थ्य अवस्था गम्भीर बनेपछि पाण्डेलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पुर्याइएको पाइएको छ ।
अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रारम्भिक तथ्यले अनुभवी तथा विशेषज्ञ चिकित्सकको सल्लाहबिनै नर्सिङ होम, क्लिनिक र फार्मेसीमार्फत असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ । यसले घटनामा गम्भीर लापरबाही भएको आशंका बलियो बनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार मृतकका श्रीमानले घटनाबारे जाहेरी दर्ता गराएपछि अनुसन्धान सुरु गरिएको छ ।
प्रहरी नायव उपरीक्षक श्रीवास्तवले भने ‘घटनामा संलग्न फार्मासिस्ट र सञ्चालकलाई नियन्त्रणमा लिएका छौं, आवश्यक परे अन्य चिकित्सकलाई पनि अनुसन्धानका लागि ल्याइनेछ ।’ खत्री नर्सिङ होममा डा. डिबि खत्री, जोनल फार्मेसीमा डा. बिष्णु गौतम र इन्दुलेखा क्लिनकमा डा. सतिश रुपाखेतीले उपचार सेवा दिँदै आएका छन् । इन्दुलेखा क्लिनिक दर्ता समेत नभएको यो घटनापछि अनुसन्धानमा भेटिएको छ भने जोनल फार्मेसीमा सेवा दिने डा. गौतम उक्त दिन त्यहाँ नभएपछि इन्दुलेखा क्लिनिकमा रेफर गरिएको समाचार स्रोतले जनाएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित स्वास्थ्य संस्थाका तीन जना व्यक्तिलाई पक्राउ गरिसकेको छख। पक्राउ पर्नेमा खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन् ।
सम्बन्धित निकायको स्वीकृति र दक्ष चिकित्सकको निगरानीबिना सेवा दिने प्रवृत्तिले यस्ता जोखिमपूर्ण घटना दोहोरिने खतरा बढाएको सरोकारवालाहरू बताउँछन् ।
बुटवलसहित विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा उपचार गराउँदा लापरबाहीका कारण महिलाहरूले अकालमै ज्यान गुमाउने घटनाले चिन्ता थपेको छ । यसो त कतिपय क्लिनिक र त्यहाँ कार्यरत स्त्रीरोग विशेषज्ञले असुरक्षित गर्भपतनका क्रियाकलाप मात्र सञ्चालन गर्ने गरेको पाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology