देवदह । देवदह इङलिश बोर्डिङ हाई स्कूलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको मेहनत, लगनशीलता तथा उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै सम्मान गरिएको विद्यालयले जनाएको छ ।
यस वर्षको एसईई परीक्षामा विद्यालयबाट कुल ६० जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरुलाई विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको जनाइएको छ । विशेषगरी उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै उनीहरुका अभिभावकहरुलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका सदस्य भिमलाल काफ्लेले विद्यार्थीहरुको सफलता विद्यालय, अभिभावक र समग्र देवदह क्षेत्रकै गौरवको विषय भएको बताउँदै आगामी दिनमा अझ उच्च लक्ष्यसहित अघि बढ्न प्रेरणा दिएका थिए । उनले अनुशासन, मेहनत र सकारात्मक सोचले मात्र सफलता सम्भव हुने उल्लेख गरे ।
विद्यालयका प्राचार्य मनोज कुमार गैरेले विद्यार्थी, शिक्षक तथा अभिभावकबीचको सहकार्यका कारण विद्यालयले राम्रो नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै आगामी शैक्षिक यात्राका लागि सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
त्यस्तै सह–प्राचार्य मन बहादुर क्षेत्री ले विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्दै समाज र राष्ट्रका लागि योग्य नागरिक बन्न आग्रह गरेका थिए। विद्यार्थीहरुको उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक स्तरलाई थप उचाइमा पुर्याएको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षामा विद्यालय अझ प्रतिबद्ध रहने धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्यालयकी प्रबन्ध निर्देशक सुजाता लामिछाने , शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालयका अन्य कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मानित विद्यार्थीहरुले विद्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोबल उच्च बनाउनुका साथै आगामी पुस्तालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology