कपाल फुलेर सेतै छ । गाला चाउरी पर्दैगैरहेका छन् । अनुहारको औरा बुढेसकालको भारीले फिक्का बनाइदिएको छ । घुडा दुख्ने रोग छ। विशेष गरी हिउँदका चिसा रातमा राती सुत्न गाह्रो हुदाँ ऐयाँ ऐयाँ गरेको आवाज रातको चकमन्न शुन्यतामा बेला बेला वल्लो कोठासम्मै सुनिन्छ । आफ्नै शरिर भारी भएको मौन गुनासो समय समयमा उहाँको सुस्केराबाट सजिलै बुझ्न सकिन्छ । तै पनि आफ्नो काममा किञ्चित नहडबढाइ विहानदेखी बेलुकासम्मको धन्दामा जोतिरहने, साना कुरामा पनि खुशि भैदिने र केही नराम्रो भए उत्तिकै दुखी भैरहने ।
उमेरले तिन विस पाँच काटिसक्यो (मैले नागरिकता हेरेर पत्ता पाको) । तल पाउदीमा कति पटक भेलबाडी आयो । घरका छानाहरु कति पल्ट फेरिसकियो उनलाई कण्ठै छ तर मेरी आमा जहिल्यै उहाँको उमेरका बारेमा कन्फ्युज हुनुहुन्छ । हुनत औठा छाप जस्तै मेरी आमाको गिन्ती कमजोर होला । उनलेँ आफैले बकेको कहानी छ – बच्चै देखी पढ्न भन्दा भेडा चराउन मन गर्ने मेरी आमाले हजुबाले गरेका उर्दी, चेतावनी र स्कुल पठाउन गरेका कसरत टेरीनन् । उनलाई स्कुल जान भन्दा भेडा चराउन रमाइलो लाग्यो । बारी र खोल्सा चहार्न मन पर्यो । फेरी कत्रो न त्यो जमानामा केटीहरु स्कुल जाने चलन थियो र ?
माथिको अंश मेरी आमाको बारेमा मैले व्यक्तिगत रुपमा गरेको अनुभव हो । यो अनुभव तपाईसगँ पनि मिल्ला । आज मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन, भेट्ने दिन । मिठो खुवाउने दिन । वर्ष दिनभरी वास्ता नगर्नेले पनि आज फेसबुकमा आमाको फोटो पोष्ट्याउने दिन ।
हरेक व्यक्तिको चाहाना आफू भएजति मात्र बन्ने हुदैन, दुनियाँमा आफूले चाँहे जति बनाउने हुन्छ । छोराछोरी जति ठुला भए पनि आमा बाउका नजरमा सानै हुन्छ्न् । उनीहरुले पूरा गर्न नसकेका सपना छोरा छोरीबाट पूरा गराउन चाहन्छन् । तर, सर्त यो छ की बाटो उनीहरुले नै भनेको हिड्नुपर्छ । हामी छोराछोरीहरु हाम्रो चाँहाना उनीहरुको भन्दा फराकिलो छ भनेर हामी सोच्छौं । कहिलेकाहिँ उनीहरु बढि नै अप्ठयारा जस्ता पनि लाग्छन । मलाइ लाग्छ यो समयले सोचाइमा ल्याएको परिवर्तनले हो । । एकातिर लाग्छ यत्रो ५० ,६० बर्ष सम्म हिडेको बाटो हत्तपत्त हामी छोरा छोरीलाइ मन पर्यो भनेर आमा बाहरु नयाँ कुरा कहाँ अगाल्न सक्छन र? यो त विस्तारै हुदै जाला ।अर्कातिर लाग्ने, हामीलाइ परिवर्तन छिट्टै चाहिएको छ, धैरता गर्नु भनेको त समय बर्बाद गर्नु मात्र हो। फेरी यहि उमेर कहाँ फर्केर आउला र ? करियरका कुरा छन् । स्वतन्त्रताका कुरा छन । अनि अझ बढि आफ्ना चाहानाका कुरा छन् । यी त हाम्रा कुरा हुन । फेरी मनले भन्छ घरका कुरा नी त छन । घर, घर भन्नु नै आमा हो, आमा भन्नु नै घर हो । आमा नभएको घर त कहाँ घर जस्तो हुन्छ र ?
मैले धेरै पल्ट सुनेको छु –आमा त पवित्र शब्द हो । हामी छोराछोरी त उहाँहरुको एउटा सानो हिस्सा मात्र हो । यदि पृथ्वी आफ्नो मोसनमा छ भने पक्कै पनि यसको ध्वनि छ, यो सुन्न नसक्नु हाम्रो कमजोरि हो । आमाबाहरु आफ्ना दुःख आफै भित्र राख्छन् । उनीहरुको सुस्केरा सुन्नसक्नु नै उनीहरुलाई बुझनु हो ।
मलाइ थाहा छ ,जब छोराछोरीहरु बढ्दछन, जीवनसाथी खोज्दछन । अनि आमा बाहरु उनीहरुको हिस्सा कम, बोझ बढि हुन्छन ।
परार साल विथ्थामा आमासँग ठाकठुक पर्यो । रत्नमाया ! तिमी बाउले आफ्नै पौरखले पाएको पद जोडेर सुब्बिनी र उनकै पेन्सनमा आफ्नो धङ्ग देखाइरहेकी छौं यो राम्रो होइन भने, पछि नमिठो लाग्यो । कहिलेकाँहि नभन्नुपर्ने कुरा भनिन्छ आवेगमा । धेरै पछिसम्म मनमा गडेर रहन्छ । आज मैले कन्फेस गर्नैंपर्छ । यो बोझ होइन है परिस्थिती ले यस्तो बनाएको हो । आवेग र रिसमा के के भनियो यो त आजै माफ माग्ने र दिने दिन होइन र? म प्रण गर्छु आजको दिन खुशि भएर आमाको सामीप्यमा बसि आर्शिवाद लिने दिन हो । केही बाटो विराएर उहाँहरुप्रति मनमा तुष भए धुने दिन हो ।
घरमा हुदा अध्ययनको समयमा प्रायः म ढोका थुनेर किताबमा घोत्लिरहेको हुन्छु । घरमा म बाहेक आमा र विरालो मात्र छन । बाहिर आमा कहिले विरालोलाई गाली गरेको कहिले चर्को स्वरले सुरी सुरी भन्दै चिच्याएको सुन्छु ।बाहिर एकलासको मौनता हुन्छ । विशेष गरी साँझ पख । मलाई लाग्छ आमा भित्रैदेखि विरालो प्रेमी हुँदै होइन तर एक्लो महसुस नहोस भनर त्यसो गर्नुभएको हो । फेरी सोच्छु बुढाबुढिहरुलाई एक्लै रहनदिनु हुदैन । मैले कतै सुनेको छु मान्छे खाना र पानी विना बरु केही दिन बाच्ने आशा गर्छ तर एक्लोपन पिडादायक हुन्छ । अनौपचारिक गफ र मानगणन्ते योजना सुन्नु बरु उनीहरुलाई पाच्य छ तर एक्लो पनले नराम्रो सँग पिरोल्दो रहेछ । मिठा खानेकुरा, राम्रा कपडा र रुपियाँ पैसा मात्र होइन। सबै भन्दा ठुलो त गफ सुन्दीने मान्छेको खाँचो पर्दोरहेछ बुढा बुढीलाई ।
उनीहरुले गुनको बदला खोजेका त हाईनन् तर सबै बाआमाहरुको छोराछोरी प्रति मौन प्रश्न के हो भने–जब तिमी सानो थियौ मैले एक छिन तिमीलाई छोडिन, तिमीलाई चिसोले छुन्छ भनेर न्यानो पारीरहे, तातो पानीले नुहाइदिए । जब तिम्रा दाँत थिएनन् नरम खाना खुवाए । विरामी पर्छौ की भनेर खाना, नाना र औषधिको सक्दो वन्दोबस्त गरे । एक्लो महसुस नहोस भनेर वरिपरि बसिरहे, घुमिरहे । तिमी अलिकति रुदाँ पनि मन पिरोल्थ्यो कति चिज दिएर फकाए ।कहिलेकाहिँ केही चिज नखाइदिँदा के खान्छ भनेर सोह्र थोकको नाम लिए ।
आज म बुढो भएको छु । शरिर बच्चा जस्तै कमजोर र दाँत झर्न थालेका छन् । म चिसो पानीले नुहाउन सक्तिन र उचित समयमा नरम र तातो खाना चाहिन्छ । एक्लो दिमाख भुतको घर जस्तै हुन्छ । मलाई नजिकै कोही गफ गर्दिने र हात समाएर उठाइदिने मान्छेको खाचो छ के यो सबै तिमिले गर्न सक्छौ ?
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology