"गाँउका गहना भनीएका शित्तल बस्ने चौतारो वा पाटी, पानी खाने कुवा वा हिटी, खोलाका किनाराहरु, फलफुलका बगौचाहरु, खेल्ने चौरहरु सबै मासिदै गएका छन । गाँउ गाँउ जस्तो नी छैन, शहर जस्तो त पटक्कै छैन ।"
केही समय अगाडि एकदिन मेरा मामाहरु शहरबाट लमजुङको मेरो गाँउमा आउनुभो । उहाँहरुले गाँउ छोडेको २५, ३० बर्षमा बल्ल अहिले गाँउ आउने शौभाग्य प्राप्त भएको रहेछ । गाँउका गतिविधिहरु मिहिन तरिकाले अबलोकन गर्नुभो । अनि, पुराना कुराहरु सम्झनुभो । झिनुवाको धान हुन्थ्योँ। भात पकाउदा एक कोश परसम्म बास्ना आउथ्योँ । जे चिज खादापनि मिठो स्वाद आउथ्योँ । मही ,मकै,साग,गाभा, गुन्दुक, काक्रो, सुन्तला, अम्बा अरु थुप्रै कुराहरु सम्झनुभो । यो बाटो यताबाट थियो, बाटाको बिचमा चौतारो अनि समिको रुख थियो । पानीको धारो थियो जहाँ बटुवाहरु तिर्खाएको बेला पानी पिउँने गर्थे ।
उहाँहरु गएपछि, मैले सोंचे त्यसो भए गाँउको सौन्दर्य के हो त ?
बस्नका लागी चौताराहरु प्रशस्त हुन्थे । समिका रुखहरु थिए । पानीका चिसा कुवाहरु थिए । गर्मिमा पानी खान माटाका घैलाहरु थिए । दिउँसो कालो हण्डीमा मकै भटमास भुटेर खान्थे । तल खेतमा बैशाख, जेष्ठका धुपमा डिँगा हेर्दा शित्तल ताप्न कटुसका स्याउला हालेर झुप्रो हाल्थे । केटाहरु डण्डिवियो हान्थे । तिदुको रुखमुनी बसेर बाघचाल खेल्थे ।
मैले देख्दासम्म पनि गाँउमा खरले छाएका गोलघरहरु थिए । तिनीहरु रातो माटो र कमेरो माटोले पोतेर चिटिक्क पारिएका हुन्थे । गोठभरी गाईबस्तु हुन्थे । पक्कै पनि तिनीहरुका कौसीमा दुई चारबटा पाकेका राता फर्सी झुण्डिएका हुन्थे । गोठका गाईबस्तुलाई कुदृष्टि नपरोस भनेर अवस्यपनि एउटा कुविण्डो झुण्ड्याएकै हुन्थे । गोठ अगाडी परालको ठुलो माच ठड्याउथे । अझ दशैंका बेला पहेला काक्रा झुण्डिएका झिक्रा र सफा चिटिक्क परेका अाँगन देखिन्थे । बासका लिङ्गा गाडेर पिङ हाल्थे । केही कोस पर रोटे पिङमा राती अबेरसम्म पनि केटाकेटीहरु चिच्याईरहेका सुनीन्थे । घरबाहिर बस्ने जागिरेहरु पक्कैपनि दशौँ पारेर घर आएकै हुन्थे । विहान वेलुका महिलाहरु धुवाँ पुत्याउदै बाँसको ढुङ्राले फु…फु… गदै आगोमा भात पकाउथे । पुरषहरु ठेकीको दहिमा मदानी घारघुर पार्दै मही पार्थे ।
अँ, बुढापाकाहरु ढाका टोपी लगाउथे, कछाड बेरेर हिड्थे ।बाटाहरु घुमाउरा हुन्थे । बस्नका लागी चौताराहरु प्रशस्त हुन्थे । समिका रुखहरु थिए । पानीका चिसा कुवाहरु थिए । गर्मिमा पानी खान माटाका घैलाहरु थिए । दिउँसो कालो हण्डीमा मकै भटमास भुटेर खान्थे । तल खेतमा बैशाख, जेष्ठका धुपमा डिँगा हेर्दा शित्तल ताप्न कटुसका स्याउला हालेर झुप्रो हाल्थे । केटाहरु डण्डिवियो हान्थे । तिदुको रुखमुनी बसेर बाघचाल खेल्थे । अझ सानाहरु नजीकैको खोल्सीतिर गुलेली हान्थे । बनेलुतिर झरेर एैसेलु र तिदु खान्थे । माथिसम्म काफल खोज्दै जान्थे ।
बर्खामा कुलोभरी पानी बग्थ्यो । पानीपरेका बेला घुम ओडेर जाडोले काम्दै एक हुल महिलाहरु हरीया धानका बीउ पुरुषले बनाएका नरम गहा्रहरुमा छुपुछुपु रोप्थे ।
अहिले समय फेरीएको छ । गाँउमा धेरै कुरा फेरीएका छन । मोटरबाटो आएको छ । भ्याकुले ति चौताराहरु र कुवाहरु पर पु्र्यादिएको छ, कतीलाई मेटाइदिएको छ । अब तिनमा बस्न मान्छेहरु जादैनन । ती खरका गोलघरहरु कङ्क्रीट र टिनका पाताले बनेका चारपाटेमा परिणत भएका छन ।
गोठमा मुश्किलले वस्तुभाउ देखिन्छन ,बरु ति ठाँउहरु मोटरसाइकल पार्किङ बनाइएका छन । गह्राहरु बाझा छन । पहिला मिठा भनीने अहीलेका अर्गानीक चिज, विरलै पाइन्छन ।गोबरमलका सट्टा हामी अहिले युरीया मल प्रयोग गछौ । तरकारीहरु, धानबालीहरु र फलफुलकरु हाईब्रिड उत्पादन गर्छाै । घरमा बुढाबुढिहरु मात्र देखिन्छन । सबैका हातमा मोबाइल फोन छन । त्यसैमा झुम्मीएका देखिन्छन् । खाजा बजारबाट खरीद गर्छौ ।
हामीले खोजेको गाँउ कस्तो हो ? पहिले जस्तै पुरानो रैथाने खाना, अर्गानीक माटो, स्वच्छ हावापानी, गाँउले जीवन ? वा त्यो भन्दा फरक ? केही बर्ष अगाडी गाँउ आउदाको गाँउलेपन अहिले हराएको छ । मेरो साथीको काका की छोरी केही बर्ष पहिला गाँउ जानलाई मरी हत्ते गर्थी । टुकी बालेर भात खाको ,दिउसो माछा मार्न साथीहरुसँग खोलातिर गएको, उतै माछा पोलेर पानीमा खेल्दै खाको । अम्बा,सुन्तला भोगटे आफ्नै हातले टिपेर मन लाग्दी कोर्पदै हिडेको संझीदै मीनपचासका छुट्टि र दशौंमा बुबाआमा लाई गाँउ जान कर गर्थी रे । तर, परार साल आउँदा ती कुराहरु कुनै पनि नपाउँदा अव नजाने भनी रे । किन भनेर सोध्दा ती टि. भी. साइकल, बजारीया मासु र तरकारी त यही छन नी भनीरे ।
गाँउले जीवन चुनौतिले भरिएको छ । सुविधाहरु बडे सँगै खर्च पनि बडेको छ । सुविधा भनेका शिक्षा, स्वास्थ्य, रोजगारमा होइनकी बरु धुलाम्मे मोटर बाटो,मोबाइल, बजारीय खानेकुराहरु जस्तै: वोइलर कुखुराको मासु, चाउचाउ, चाउमिन, कोक ,फेण्टा, वियर, प्रशोधनका वस्तुहरु आदिमा पो बडेको छ । यसले आम्दानी सिमित व्याक्तिको हातमा मात्र पुर्याएको छ । कतै कतै केही होमस्टेहरु खोलीएका छन तर तिनले दिने खाना र सुविधा गाँउले उत्पादन भन्दा सहरीया वस्तुले ओगटेका छन ।
गाँउका गहना भनीएका शित्तल बस्ने चौतारो वा पाटी, पानी खाने कुवा वा हिटी, खोलाका किनाराहरु, फलफुलका बगौचाहरु, खेल्ने चौरहरु सबै मासिदै गएका छन । गाँउ गाँउ जस्तो नी छैन, शहर जस्तो त पटक्कै छैन ।
- राजु अधिकारी, सुन्दरबजार-३, लमजुङ
९८४२९७८६०६
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology