देवदह । विद्यालयमा हरित उद्यमशीलताको लागि देवदह नगरपालिकाले बिउ पुँजी उपलब्ध गराउने भएको छ । आइतबार समृद्ध समुदाय विकास केन्द्रद्वारा आयोजित स्थानीय सरकारसँग युवा संवाद कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले हरित विद्यालयको क्षेत्रमा नगरपालिकाले काम गरिरहेको र उद्यममै जोडिन चाहनेलाई समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देवदहका ९ वटा विद्यालयका विद्यार्थीहरु सहभागी कार्यक्रममा सोधिएका प्रश्नको जवाफ दिंदै प्रमुख खरेलले नगरपालिकाले युवा उद्यमशीलताको लागि हरेक वर्ष ५० लाख विनियोजन गरेको बताए ।
'हरित विद्यालयको क्षेत्रमा काम गर्न चाहने विद्यालयले उपलब्ध गराएको व्यावसायिक योजना अध्ययन गरी आवश्यक निर्णय लिइने छ ।' प्रमुख खरेलले भने, 'विद्यार्थीले विद्यालयमा उद्यम सिकेर अध्ययनपश्चात् त्यसलाई व्यावसायिक योजनासहित कार्यान्वयन गर्न जरुरी छ । त्यसको लागि नगरपालिकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ ।'
सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीहरुले हरित उद्यम, व्यावसायिकता, देवदहको फोहोर व्यवस्थापन लगायतका विषयमा प्रश्न गरेका थिए ।
छलफलमा भाग लिंदै कोपिला भ्याली सेवा समाज सुर्खेतका कृषि अधिकृत दिनेश सापकोटाले कोपिला भ्याली स्कुलमा संचालित हरित विद्यालयको अवधारणा वास्तविक जीवनमा लागु गर्न सकिने बताए । टि-फोर एजुकेसन बेलायतले कोपिला भ्याली स्कुललाई वातावरणीय कार्य गरेवापत २०२५ मा विश्वका शिर्ष १० उत्कृष्ट विद्यालयको सूचीमा समावेश गरेको उल्लेख गर्दै सापकोटाले देवदहका विद्यालयमा समेत यहाँको परिवेश अनुसार हरित विद्यालयको अवधारणामा काम गर्न सकिने उल्लेख गरे ।

'हामी फरक अवधारणामा काम गर्यौं र एक प्रकारको सफलता पनि प्राप्त गर्यौं ।' अधिकृत सापकोटाले भने, 'दृढतापुर्वक काम गर्न सकियो भने सबै विद्यालयमा हरित उद्यमशीलता सम्भव छ ।' सापकोटाले आफ्नो संस्थाका फाउण्डर मेम्बर म्यागी डोयनले सीएनएन हिरो वर्ष २०१५ समेत घोषित भएको बताए ।
त्यसैगरी देवदहको सिता माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीले 'व्लिकंनाओ फाउन्डेसनको सहयोगमा संचालित कोपिला भ्याली विश्वकै नमुना विद्यालय मध्येमा छनौट हुने सम्पूर्ण नेपालीहरुकै लागि गर्वको विषय भएको उल्लेख गरे । देवदह विद्यालमा समृद्ध समुदाय विकास केन्द्रले हरित उद्यममा गरिरहेको कामलाई नगरपालिकाले अपनत्व लिनुपर्ने बताउँदै प्रधानाध्यापक अधिकारी देवदह हरित उद्यमशीलताको केन्द्र बन्न सक्ने दावी गरे ।
यसअघि कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेले समृद्ध समुदायले नगरपालिका, विद्यार्थी, विद्यालय र समुदायसंग जोडिएर काम गरिरहेको बताएका थिए ।
कार्यक्रममा सेतोमसीद्वारा निर्मित देवदहका विद्यालयमा हरित उद्यमशीलता सम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो भने विद्यार्थीहरुले आफुहरुले बनाएको विजनेश प्लान नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा समृद्ध समुदायका निर्देशक युवराज चापागाईं र कोपिला भ्यालीका कृषि अधिकृत सापकोटाले हरित उद्यमशीलता विशेष प्रस्तुति दिएका थिए ।
११ बुँदे प्रतिबद्धता
स्थानीय सरकारसंग युवा कार्यक्रमको निचोडको रूपमा ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । छलफलले सक्रिय नागरिकका लागि हरित उद्यमशीलता कार्यक्रमलाई नगरपालिकाले अपनत्व ग्रहण गर्ने, विद्यार्थीद्वारा उत्पादित सामग्रीको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने तथा विद्यालयलाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउने लगायतका निष्कर्ष निकालेको जनाइएको छ ।
सेतोमसीका कार्यकारी सम्पादक टंक सुनार र समृद्ध समुदायका कार्यक्रम प्रमुख आस्था विश्वकर्माले छलफलको टिपोटका आधारमा तयार गरिएका ११ बुँदे प्रतिबद्धता यस प्रकार छन् ।
१. सक्रिय नागरिकका लागि हरित उद्यमशिलता कार्यक्रमको देवदह नगरपालिकाले अपनत्व ग्रहण गर्ने ।
२. हरित उद्यमका लागि आवश्यकता अनुसार विद्यालयलाई बिउ पुँजी उपलब्ध गराउने ।
३. हरित उद्यममा जोडिन चाहाने युवा विद्यार्थीको लागि नगरपालिकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने ।
४. विद्यार्थीले तयार पारेका सामाग्रीको बजारीकरणमा नगपालिकाले सहजिकरण गर्ने ।
५. फोहोर व्यवस्थापनमा विद्यालय स्वयमलाई जिम्मेवार हुन आग्रह गर्ने ।
६. सार्वजनिक स्थानमा प्लास्टिकजन्य वस्तु जलाउने कार्यमा सङ्लग्नलाइ कडाइकासाथ कार्वाही गरिने ।
७. देवदह नगपालिकालाई हरित उद्यमशिलताको केन्द्रको रुपमा विकास गर्ने ।
८. उद्यमी विद्यार्थीहरुलाई माछा, मासु तथा दुग्धजन्य उत्पादनमा लाग्न प्रोत्साहन गर्ने ।
९. समृद्ध समुदाय विकास केन्द्र नेपालका कार्यक्रमहरुलाई थप विस्तार गर्ने ।
१०. पालिका संग युवा सम्वाद कार्यक्रमलाई निरन्तरता दिने ।
११. देवदहका अन्य विद्यालयमा समेत हरित उद्यमशीलता कार्यक्रम विस्तार गर्ने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology