आँपलाई फलहरुको राजा भनिन्छ । यो फल आजभोली बाह्रै महिना बजारमा पाइन्छ । तर नेपालको हकमा असार लागेपछि बजारमा आएको आँप निर्धक्क खान सकिन्छ । स्वाद, सुगन्ध र पोषणका कारण आँपलाई फलहरूको राजा पनि भनिन्छ । नेपालमा मात्र होइन विश्वका धेरै देशहरूमा आँप लोकप्रिय फलका रूपमा चिनिन्छ ।
मिठो स्वादका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले रुचाउने आँप स्वास्थ्यका लागि अत्यन्त लाभदायक फल हो । यसमा शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज तत्व, फाइबर तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । आँपमा पाईने अन्य विभिन्न पोषक तत्व अन्तर्गत भिटामिन ए, भिटामिन सी, भिटामिन ई, पोटासियम, म्याग्नेसियम, आइरन लगाएत हुन् । यसमा पाइने एन्टिअक्सिडेन्ट तत्वले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ । आँपमा प्राकृतिक चिनी भए पनि यसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने काम गर्छ । यद्यपि, अन्य खाद्य पदार्थजस्तै आँपको पनि अत्यधिक सेवन गर्दा केही स्वास्थ्य समस्या देखिन सक्छ । त्यसैले यसको फाइदा, बेफाइदा र सही सेवन विधिबारे जानकारी हुनु आवश्यक छ ।
आँप खानुका फाइदाहरू
१) रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
आँपमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले रुघाखोकी, संक्रमण तथा अन्य रोगसँग लड्न शरीरलाई सक्षम बनाउँछ । तर आँपको चोपसङ्ग भने सचेत रहनु पर्छ । अन्यथा मुख तथा शरीरमा एलर्जी वा घाउ हुन सक्छ ।
२) आँखाको स्वास्थ्य सुधार गर्छ
भिटामिन ए आँखा स्वस्थ राख्न आवश्यक पोषक तत्व हो । आँपमा भिटामिन ए प्रशस्त हुने भएकाले यसको सेवनले आँखाको दृष्टि राम्रो राख्न तथा राति कम देख्ने समस्याको जोखिम कम गर्न मद्दत पुर्याउँछ ।
३) पाचन प्रणालीलाई स्वस्थ बनाउँछ
आँपमा फाइबर र पाचनमा सहयोग गर्ने इन्जाइमहरू पाइन्छन् । यसले खाना राम्रोसँग पचाउन सहयोग गर्नुका साथै कब्जियतको समस्या कम गर्न मद्दत समेत गर्छ । नियमित रूपमा उचित मात्रामा आँप खाँदा पाचन प्रणाली सक्रिय रहन्छ ।
४) छालाको सौन्दर्य बढाउँछ
आँपमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्टले छालाको स्वास्थ्य सुधार गर्न सहयोग गर्छ । यसले छालालाई चम्किलो, स्वस्थ र जवान देखाउन मद्दत गर्न सक्छ । छालाको कोषिका पुनःनिर्माणमा पनि आँप उपयोगी मानिन्छ ।
५) मुटुका लागि लाभदायक
आँपमा पाइने पोटासियम र फाइबरले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यसले खराब कोलेस्ट्रोलको मात्रा कम गर्न र मुटुलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।
६) शरीरलाई ऊर्जा दिन्छ
आँपमा प्राकृतिक चिनी र कार्बोहाइड्रेट पाइने भएकाले यसले शरीरलाई छिट्टै ऊर्जा प्रदान गर्छ । खेलकुद गर्ने वा धेरै शारीरिक श्रम गर्ने व्यक्तिका लागि आँप अत्यन्त उपयोगी फल मानिन्छ ।
७) मस्तिष्कको कार्यक्षमता सुधार
आँपको नियमित सेवनले मस्तिष्कको कार्यक्षमता सुधार गर्न सहयोग पुर्याउँछ । आँपमा पाइने भिटामिन बी समूहका तत्वहरूले मस्तिष्कको कार्यक्षमता सुधार गर्न मद्दत गर्छन् । यसले स्मरणशक्ति तथा एकाग्रता बढाउन सहयोग पुर्याउन सक्छ ।
आँप खानुका बेफाइदाहरू
१) अत्यधिक सेवनले तौल बढ्न सक्छ
आँपमा प्राकृतिक चिनी र क्यालोरीको मात्रा हुने भएकाले धेरै मात्रामा सेवन गर्दा तौल बढ्ने सम्भावना हुन्छ । विशेषगरी तौल नियन्त्रण गर्न चाहने व्यक्तिले मात्रा मिलाएर खानुपर्छ ।
२) मधुमेह भएका व्यक्तिका लागि सावधानी
मधुमेह भएका व्यक्तिले आँप सीमित मात्रामा मात्र सेवन गर्नुपर्छ । धेरै आँप खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ । चिकित्सक वा पोषणविद्को सल्लाह अनुसार सेवन गर्नु उचित हुन्छ ।
३) पेटसम्बन्धी समस्या
एकैपटक धेरै आँप खाँदा पेट फुल्ने, ग्यास हुने, अपच हुने वा झाडापखाला लाग्ने समस्या देखिन सक्छ । विशेषगरी संवेदनशील पाचन प्रणाली भएका व्यक्तिले आँप सेवन गर्दा सावधानी अपनाउनुपर्छ ।
४) एलर्जी वा घाउ खटिरा
केही व्यक्तिलाई आँपको बोक्रा वा रसले एलर्जी गराउन सक्छ । छाला चिलाउने, रातो हुने, मुख वरिपरि समस्या देखिने जस्ता लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
५) अत्यधिक गर्मीको अनुभूति
परम्परागत मान्यताअनुसार धेरै आँप खाँदा शरीरमा गर्मी बढ्ने, मुखमा घाउ आउने वा पिम्पल देखिने समस्या हुन सक्छ । यद्यपि यो सबैमा लागू नहुन सक्छ, तर धेरै सेवन गर्नु उचित हुँदैन ।
आँप कसरी खाँदा असर गर्दैन ?
१) पानीमा भिजाएर खाने
आँपलाई खानुअघि करिब ३० मिनेटदेखि २ घण्टासम्म आँपको भेट्ना तिरको भाग काटेर सफा पानीमा भिजाएर राख्ने । त्यस पछि फेरि सफा पानीले राम्रो सङ्ग धुने र खाने गर्दा स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसले फलको सतहमा रहेका धुलोमैलो तथा केही अवाञ्छित तत्व हटाउन मद्दत गर्नुको साथै चोपले समेत असर पनि गर्दैन ।
२) राम्ररी धोएर मात्र खाने
बजारबाट किनेर ल्याएको आँपलाई सफा पानीले राम्ररी धोएर मात्र सेवन गर्नुपर्छ । यसले बाहिरी फोहोर र विषादीको असर कम गर्न सहयोग पुर्याउँछ । आफ्नै बारीमा फलेको र औषधि विषादीको प्रयोग नभएको हो भने बोक्रा सङ्गै खानु अझै राम्रो मानिन्छ ।
३) सन्तुलित मात्रामा खाने
स्वस्थ व्यक्तिले दिनमा १ देखि २ वटा मध्यम आकारका आँप खान सक्छन् । आँप अत्यधिक सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुँदैन ।
४) अन्य पोषिलो खानेकुरासँग सन्तुलन मिलाउने
आँप मात्र धेरै खानेभन्दा अन्य फलफूल, सागसब्जी, दाल, दूध तथा प्रोटिनयुक्त खानेकुरासँग सन्तुलित आहारका रूपमा सेवन गर्नु राम्रो हुन्छ ।
५) मधुमेह भएका व्यक्तिले मात्रा नियन्त्रण गर्ने
यदि मधुमेहको समस्या छ भने एकैपटक धेरै आँप खानु हुँदैन । सानो परिमाणमा र चिकित्सकको सल्लाहअनुसार सेवन गर्नुपर्छ ।
आँप जिब्रोको स्वाद मेटाउने फल मात्र होइन, शरीरलाई आवश्यक विभिन्न पोषक तत्व उपलब्ध गराउने प्राकृतिक स्रोत पनि हो । यसको नियमित तथा सन्तुलित सेवनले स्वास्थ्यलाई अनेकौँ रूपमा फाइदा पुर्याउन सक्छ । तर, लाभदायक भन्दैमा आवश्यकता भन्दा बढी सेवन गर्नु उपयुक्त हुँदैन ।
स्वस्थ जीवनका लागि आँपलाई सन्तुलित भोजनको एक हिस्सा बनाउनु उपयुक्त हुन्छ । उचित मात्रा, सही सेवन विधि र व्यक्तिगत स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर यसको सेवन गरेको खण्डमा आँपले स्वाद र स्वास्थ्यबीचको सुन्दर सन्तुलन कायम गर्न मद्दत गर्छ । गर्मी मौसममा उपलब्ध यस फलको सही तरिकाले सेवन गर्दै स्वस्थ जीवनशैली अपनाउनु सबैका लागि लाभदायक हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology