हाम्रो देश नेपालको परिवेशमा मात्रै नभएर विश्वका विभिन्न देशमा तामा विभिन्न मौलिक खाद्य पदार्थमध्ये एक महत्वपूर्ण खाद्य पदार्थ हो । बाँसको जरा भएको ठाउँमा जमिनबाट पलाएको कलिलो मुनालाई तामा भनिन्छ । नेपालमा वर्षायाममा बाँसका मुनाहरू पलाउन थालेपछि गाउँघरमा तामा भाँचेर विभिन्न परिकार बनाएर खाने चलन व्यापक छ । तामाको आफ्नै प्रकारको स्वाद र बनोट हुन्छ । यसको झोल, तरकारी र अचार नेपाली समाजमा धेरै रुचाइने परिकार हुन् । हाम्रो देशमा तामा र तीजको विशेष महत्त्व रहेको छ ।
तामा स्वादका लागि मात्र नभई पोषणका हिसाबले पनि अत्यन्तै उपयोगी मानिन्छ । यसमा पानीको मात्रा धेरै हुनुका साथै प्रसस्त मात्रामा फाइवर, केही खनिज तथा अन्य पोषक तत्व पाइन्छन् । त्यसैले तामालाई महत्वपूर्ण परिकारको रूपमा प्रयोग गर्न सकिन्छ । तर तामा खाँदा यसको उचित प्रशोधन र पकाउने तरिकामा भने विशेष ध्यान दिन जरुरी छ ।
तामाको विशेषता
तामाको मुख्य विशेषता यसको फरक स्वाद हो । यो सामान्य तरकारीभन्दा केही अमिलो, कसिलो र छुट्टै स्वादको हुन्छ । यही कारण तामाबाट बनेका परिकार धेरै मानिसलाई मन पर्छन् । यसलाई आलु, बोडी, भटमास, केराउलगायत अन्य विभिन्न तरकारीमा मिसाएर धेरै परिकार बनाउन सकिन्छ । ताजा तामालाई लामो समयसम्म राख्दा बिग्रने भएकाले परम्परागत रूपमा यसलाई अमिलो बनाएर सुरक्षित राख्ने प्रचलन पनि छ । यसरी तयार गरिएको तामा पछि पनि विभिन्न परिकारमा प्रयोग गर्न सकिन्छ । अहिले त नेपालका धेरै ठाउँमा तामा संरक्षण गर्ने आफ्नै स्थानीय तरिका पनि पाइन्छन् ।
तामा खानुका फाइदा
तामामा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले यसले पाचन प्रणालीलाई सहयोग गर्छ । रेसायुक्त खाना नियमित रूपमा खानाले आन्द्राको गतिविधि सामान्य हुने गर्छ । त्यसैले उचित मात्रामा तामा खानु पाचन स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिन्छ । तामालाई विभिन्न तरकारीसँगै मिसाएर परिकार बनाउँदा खानामा विविधता आउँछ । जसले गर्दा हाम्रो जिब्रो पनि नयाँ स्वादसङ्ग रमाउन पाउँछ । तामामा पानीको मात्रा बढी र क्यालोरी तथा बोसोको मात्रा तुलनात्मक रूपमा कम हुन्छ । यसमा फाइबर तत्व पनि पाइने भएकाले पाचन प्रणालीलाई यसले सहयोग गर्छ । तामामा थोरै मात्रामा प्रोटिन तथा कार्बोहाइड्रेट पनि पाइन्छन्छ । यसका साथै तामामा पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, फलाम, जिंक जस्ता खनिज तत्व, भिटामिन सी, फोलेट केही मात्रामा पाइन्छ ।
तर तामामा पाइने पोषक तत्वको मात्रा यसको प्रजाति, ताजापन, प्रशोधन र पकाउने तरिका अनुसार फरक पनि पर्न सक्छ । तामामा पानी र रेसा धेरै हुने भएकाले पोषण प्रयाप्त भएको महसुस हुन सक्छ, तर तामाबाट मात्र शरीरलाई चाहिने सबै पोषण प्राप्त हुँदैन । त्यसैले दाल, गेडागुडी, हरियो तरकारी, फलफूल तथा अन्य पौष्टिक खाद्य पदार्थसँग यसलाई मिलाएर खाँदा स्वाद पनि फरक हुनुका साथै पोषक तत्व पनि प्रयाप्त हुन सक्छ । तामामा पाइने प्राकृतिक वनस्पतिजन्य पदार्थबारे विभिन्न वैज्ञानिक अध्ययन पनि भएका छन्, तर तामाले कुनै विशेष रोग निको पार्छ वा सबै रोगबाट बचाउँछ भन्ने दाबी गर्नु उचित हुँदैन । यसलाई स्वस्थ र सन्तुलित खानाको एउटा परिकारका रूपमा लिनु उपयुक्त हुन्छ ।
बाँसका धेरै प्रजाती हुन्छन् । सबै प्रजातिका मुनाहरू खानयोग्य हुँदैनन् । त्यसैले आफूलाई राम्रोसँग थाहा नभएको बाँसको मुना जथाभावी टिपेर खानु हुँदैन । खानयोग्य तामालाई पनि राम्रोसँग सफा गरेर पखालेर बेसार र नुन राखेर उमालेको तामा मात्र खानाको परिकारमा समावेश गर्नु स्वस्थकर मानिन्छ । कसै कसैले खरानीमा पकाउने गरेको पनि पाइन्छ । काँचो वा राम्रोसँग प्रशोधन नगरिएको तामा खाँदा पेटमा समस्या वा अन्य स्वास्थ्य समस्या हुन सक्छ । बजारबाट किनेको तामा भए पनि सफा र भरपर्दो स्रोतबाट आएको हो कि होइन भन्नेमा ध्यान दिनु जरुरी हुन्छ ।
अमिलो तामाको प्रयोग
तामालाई अमिलो बनाएर राख्ने चलन नेपाली समाजमा धेरै पुरानो हो । अमिलो तामा स्वादिलो हुनुका साथै लामो समयसम्म प्रयोग गर्न सकिन्छ, तर तामा अमिलो बनाउँदा वा अचार तयार गर्दा धेरै नुन प्रयोग गर्ने चलन पनि छ । धेरै नुन भएको खाना नियमित रूपमा धेरै खानु स्वास्थ्यका लागि लाभदायक मानिँदैन । अमिलो तामाले बाह्र बर्षको ज्वरो निकाल्छ भन्ने उखान पनि छ । त्यसैले अमिलो तामा वा तामाको परिकार खाँदा आफ्नो स्वास्थ्य स्थिति बिचार गरेर मात्रै खानु पर्छ । विशेषगरी चिकित्सकले नुन कम खान वा मुख बार्न सल्लाह दिएका व्यक्तिले बढी नुन भएको तामा अथवा कुनै पनि खाना कम खानु राम्रो हुन्छ ।
तामाका बेफाइदा
तामा शुद्ध र अर्गानिक भए पनि सबै व्यक्तिलाई समान रूपमा खान मिल्छ भन्ने हुँदैन । धेरै मात्रामा तामा खाँदा केही मानिसलाई पेट फुल्ने, ग्यास हुने, पेटमा असहज हुने जस्ता समस्या हुन सक्छ । विशेषगरी रेसायुक्त खाना कम खाने व्यक्तिले एकैपटक धेरै तामा खानु राम्रो हुँदैन । गलत प्रजातिको बाँसको मुना प्रयोग गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । त्यसैले खाने तामाको सही पहिचान हुनु आवश्यक छ । राम्रोसँग प्रशोधन नगरेको तामा खानु हुँदैन । त्यसैगरी, धेरै नुन र तेल प्रयोग गरेर बनाइएको तामाको अचारलाई स्वास्थ्यका दृष्टिले नियमित र धेरै मात्रामा खानु राम्रो मानिदैन । तामाको फाइदा लिनका लागि यसलाई सरल तरिकाले पकाएर खानु उपयुक्त हुन्छ । तारेको तामा पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन ।
तामा र नेपाली संस्कृति
चाइनामा तामा र टुसाको राम्रो बजार छ । विदेशीको नक्कल गर्ने कतिपय नेपालीहरुले त चाइनिजले तामा खाएको देखेर बल्ल तामा प्रतिको मोह बढेको भन्ने पनि सुनिन्छ । तथापि तामा नेपाली खानपान र संस्कृतिसँग जोडिएको खाद्य पदार्थ हो । विशेषगरी गाउँघरमा तामा भाच्ने, सफा गर्ने, उमाल्ने र विभिन्न तरिकाले पकाउने चलन पुस्तौँदेखि चलिआएको हो । यसले हाम्रो पुरानो खानपान र स्थानीय ज्ञानलाई पनि बढाउँछ । हाम्रा पूर्खाहरुको पालामा तामा र तीजलाई पर्यायका रुपमा पनि हेरिन्थ्यो । त्यसैले त तीजमा गीत गाइन्थ्यो “ तीजका खाजा मिठा पोलेका तामाले, नरोऊ भान्जी लिन आउँला भन्थे मामाले” । यसरी तामालाई हाम्रो सँस्कृतिसङ्ग पनि जोडिएको छ ।
आज विश्व बजारमा विभिन्न प्रकारका आधुनिक खाद्य पदार्थ सजिलै पाइन्छन् । यस्तो अवस्थामा हाम्रा मौलिक खाद्य पदार्थको महत्व अझ बढेको छ । तामा जस्ता स्थानीय खाद्य पदार्थको प्रयोगले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै हाम्रो परम्परागत खानाको पहिचान पनि जोगाउन सहयोग गर्छ । हाम्रो देशमा उत्पादन भएको तामा अन्य देशमा निर्यात हुने हो भने अझै हाम्रो देशका किसानहरुले उत्साहपूर्वक स्थानीय उत्पादनमा जोड दिन आतुर हुन्थे र हाम्रो देशको अर्थतन्त्र पनि बलियो हुन सक्थ्यो ।
तामा स्वादिलो, मौलिक र विभिन्न तरिकाले प्रयोग गर्न सकिने खाद्य पदार्थ हो । यसमा प्रशस्त फाइबर तथा केही पोषक तत्व पाइने भएकाले सन्तुलित भोजनमा उचित मात्रामा समावेश गर्नु उपयुक्त मानिन्छ । यसको विशेष स्वादका कारण तामाको झोल, तरकारी र अचार धेरैको रोजाइमा परेको हुन्छ । आलु तामा भन्ने बित्तिकै सबैको मुख रसाउने कुरामा दुई मत छैन । तर तामा खाँदा यसको प्रजाति, सफाई, प्रशोधन र पकाउने तरिकामा ध्यान दिनु आवश्यक छ । स्वस्थ जीवनका लागि कुनै एउटा खाद्य पदार्थमा मात्र भर पर्नु भन्दा विभिन्न प्रकारका अन्न, दाल, गेडागुडी, तरकारी, फलफूल तथा अन्य पौष्टिक आहार आवश्यक हुन्छ । यसरी सही तरिकाले तयार गरी उचित मात्रामा खाइने तामा हाम्रो स्वास्थ्य, स्वाद र मौलिक नेपाली खानाको परम्पराको दृष्टिले महत्वपूर्ण मान्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology