केही दिनदेखि तापक्रम तीव्र रुपमा वृद्धि भैरहेको छ । गर्मी याममा केही हदसम्म तापक्रमको वृद्धि हुनु स्वाभाविक हो तर वैश्विक उष्णताका कारण सामान्य अवस्थाको अनुपातमा तापक्रम औधी रुपमा बढ्दो छ । अबको केही दिनमा अझै तीव्र गतिमा वृद्धि हुने सम्भावना छ । तापक्रम वृद्धिसङ्गै झाडापखाला र विभिन्न रोग लाग्ने समस्याको त्रास त हुन्छ नै, त्यसको साथसाथै लू लाग्ने सम्भावना पनि बढ्दै जान्छ । हरेक वर्ष लू लागेर मृत्यु भएको खबर पनि उत्तिकै सुनिन्छ । यस्तो अवस्थामा लूबाट बच्न विभिन्न सतर्कता अपनाउन जरुरी हुन्छ । नेपालको परिवेशमा, तराईका ठाउँहरु जस्तै विराटनगर, राजविराज , जनकपुर, वीरगञ्ज , भैरहवा, नेपालगञ्ज र धनगढी वरपरका क्षेत्रमा अत्यधिक गर्मी हुने हुन्छ । यो क्षेत्रमा बसोबास गर्नेहरुले अझै धेरै सतर्कता अपनाउनु जरुरी छ ।
डाक्टरहरुका अनुसार अत्यधिक गर्मी बढेसङ्गै मानव शरीरको तापक्रम पनि बढ्ने हुँदा शरीरबाट पसिना धेरै आउने हुनाले शरीरमा नुनको मात्रा घट्दै जाने हुन्छ । धेरै नै गर्मी भयो भने मुटुको चालमा परिवर्तन आई रक्तचापमा समेत समस्या आउन सक्छ । यस्तो मौसममा विशेष गरेर बालबालिका, रोगी र वृद्धावस्थाका आमा बुवाहरुको विशेष ख्याल गर्नुपर्ने हुन्छ । किनभने, उनीहरुमा शरीरको तापक्रम सन्तुलन गर्ने क्षमता कमजोर हुन्छ अनि मानिसहरु बेहोस पनि हुन सक्छन् । दिमाग सुन्निने पनि हुन सक्छ । लू लागेमा शरीरको तापक्रम बिग्रिन गई स्वासप्रस्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम बढ्ने, छाला सुख्खा र रातो हुने हुन्छ । अत: लूको असरले मानिस सिकिस्त अवस्थामा अस्पताल जानुपर्ने पनि हुन सक्छ । त्यसैले बेलैमा उचित सावधानी अपनाउनुपर्ने हुन्छ ।
अत्यधिक तातो हावा लूबाट बच्न विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ । जस्तै, बाहिर घाममा सकेसम्म ननिस्कने। निस्कनै परे छाता ओढेर निस्कने। पातलो सुतिको गम्छा अथवा चुन्नी, सलले टाउको छोप्ने । कालो चस्मा लगाउने । छालामा प्रत्यक्ष असर पर्न नदिन सन्सक्रिमहरुको प्रयोग गर्ने । हरियो रुखको छहारीमा बस्ने । पानी प्रशस्त पिउने । कोक, फेन्टा, स्प्राइट जस्ता चिसो पेय पदार्थ नपिउने । त्यस्ता पेय पदार्थमा चिनीको मात्रा अत्यधिक हुने भएकाले त्यसले स्वास्थ्यलाई अझै असर गर्न सक्छ र डिहाइड्रेसन हुन सक्छ । जीवनजल, उखुको रस, निम्बु पानी, फलफूलको ताजा जुस, मेवा, खरबुजा, काँक्रा खाँदा धेरै राम्रो हुन्छ ।
अत्यधिक गर्मीको कारण खाना अरुचि हुने समस्या उत्तिकै हुन्छ । खाना खाँदा काँचो प्याज, हरियो खुर्सानी, पुदिनाको प्रयोग गर्ने । करेला जस्ता खाने कुराले खानामा रुचि पनि बढ्छ र लूबाट पनि जोगाउन मदत गर्छ । सकेसम्म तारे भुटेको खानेकुरा नखाने। प्राकृतिक खानेकुरा खोजी खोजी खाने गर्नुपर्छ । साँझ मेथी र मिस्री भिजाएर बिहान खाने चलन छ । मधुमेहको समस्या हुनेहरूले मिस्री धेरै खानु हुँदैन। चिया सिड भिजाएर खाँदा पनि हाम्रो स्वास्थ्य धेरै राम्रो हुन्छ। धेरै पसिना आउनेहरुले पानी धेरै पिउने । खेतबारीमा काम गर्नु परे साँझ-बिहान गर्ने। आइसक्रीम, चिया, कफी, सोडा जस्ता पेय पदार्थको सट्टा हरियो साग सब्जी, सलाद, मोही, खुदोपानी र आफ्नै घरमा बनाएको कागती पानीको सर्वत पिउने । ट्याङ्ग, रसना जस्ता केमिकल युक्त जुसहरु नखाने । गेडागुडी भिजाएर टुसा उमारेर खाने । धेरै तातो र धेरै चिसो खानेकुरा नखाने ।
त्यस्तै हरियो रुखको छहारीमा बस्ने, ५-७ मिनेटसम्म लामो लामो श्वास लिने र ध्यान गर्ने गरेमा मन एकाग्र हुन्छ । चिन्ता कम हुन्छ । त्यसैगरी चिसो पानीले नुहाउने । सफा पानीमा पौडी खेल्ने । सार्वजनिक पौडी पोखरीमा पौडी खेल्दा होशियारी अपनाउन सकिएन भने छाला सम्बन्धी विभिन्न समस्या उत्पन्न हुन सक्छ । अनुहारमा घाम छेक्ने खालको टोपी लागाउने । विनचिटर लगाउने । यस्तै विभिन्न तरिका अपनाएर लूबाट धेरै हदसम्म बच्न सकिन्छ।
वर्ष भरिमा धेरै किसिममा मौसमसङ्ग जुध्दै काम गर्नुपर्ने भएकोले हरेक पल कसरी विभिन्न रोगसङ्ग बचेर हाम्रो शरीरलाई स्वस्थ राख्न सकिन्छ भन्ने कुरामा हामी सदैव सचेत रहँदै दैनिक आहार-विहार र दैनिकीलाई सुचारु गर्न जरुरी छ । अत्यधिक जाडो र अत्यधिक गर्मी दुवै हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन् । त्यसैले आफ्नो स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै प्रतिकुल मौसमप्रति सचेत भइ आफ्नो रोग प्रतिरोधात्मक शक्ति बढाएर स्वस्थ जीवनशैली र योग, ध्यान, साधना मार्फत् फरक जीवन जीउन सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology