काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रिसोर्टमा विदेशी नागरिकले शंकास्पद गतिविधि गरिरहेको भन्ने जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
मंसिर १ गते दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको टोलीले रिसोर्टमा जाँच गरेको थियो । त्यसक्रममा ३१ जना पुरुष र पाँच जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology