काठमाडौँ । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समितिमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, संरक्षण विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक डा. विन्डी राइटलाई सदस्यमा मनोनयन गरेको छ ।
कोषकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐनको व्यवस्था अनुसार तीनै जनालाई सदस्यमा मनोनयन गरेकी हुन् ।
मनोनित सदस्यमध्ये लर्ड क्यामोस विलियम स्टोनर बेलायतको यूके–नेपाल ट्रस्टका अध्यक्ष हुन् । उनको परिवार नेपालको राजनीतिक, कूटनीतिक तथा संरक्षण क्षेत्रसँग लामो समयदेखि जोडिएको छ । उनले विभिन्न परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणसँग सम्बन्धित गतिविधिमा सहकार्य गर्दै आएका छन् ।
डा. एरिक डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा र पाटेबाघको आहार–विहारसम्बन्धी अनुसन्धानमा सहभागिता जनाएका थिए । उनले विश्व वन्यजन्तु कोषमा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा काम गरेका थिए । उनी ‘तराई आर्क ल्यान्डस्केप’ अवधारणासँग पनि जोडिएका छन् ।
प्रा. डा. विन्डी राइट अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन हुन् । उनले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा अनुसन्धान तथा प्राज्ञिक सहकार्य गर्दै आएकी छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले समुदायमा आधारित संरक्षण, जैविक विविधता संरक्षण तथा वन्यजन्तु व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ । कोषको सञ्चालक समितिमा अन्तर्राष्ट्रिय अनुभव भएका सदस्यहरू थपिएसँगै अनुसन्धान, संरक्षण तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology