देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एसोसिएसन (इप्सा) देवदहले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालयलाई सम्मान गरेको छ ।
इप्सा देवदहको आयोजनामा भएको सम्मान तथा शुभकामना कार्यक्रममा एसइइ २०८२ मा ३.६ देखि ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो । जसमा ८६ जना विद्यार्थीहरु रहेको सचिव कमल पौडेलले जानकारी दिए ।
इप्सा देवदहका अध्यक्ष विनोद थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले विद्यार्थीहरूलाई आफ्नो भविष्य निर्माणको लागि अवसरको खोजीमा लाग्न आग्रह गरिन् । ‘पछिल्लो समय अवसर भनेको विदेश मात्र देख्ने परम्परा विकशित भएको छ, त्यो दिगो होइन । बरु आफ्नै देशमा बसेर उद्यम, व्यवसाय र सिर्जनशील कार्यमार्फत सफल बन्न खोज्नु अवसर हो ।’ उनले भनिन्, ‘हामीले आफ्नै देशमा बसेर पनि धेरै सम्भावनाहरुको खोजि गर्न सक्छौं र यसबाट व्यावसायिक सोच विकसित गरेर रोजगारी समेत सिर्जना गर्न सक्छौं ।’
कार्यक्रममा बोल्दै स्वर्णीम सगरमाथा कलेजका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीले प्राप्त गर्ने जिपिए र अंक मात्रै सफलताको मापन नभएको उल्लेख गर्दै सफलता हासिल गर्नुभन्दा त्यसलाई निरन्तर कायम राख्नु अझ चुनौतीपूर्ण हुने धारणा राखे । उनले अनुशासन, मेहनत र निरन्तर सिकाइ नै विद्यार्थी जीवनको आधार भएको उल्लेख गरे ।
संस्थाका प्रमुख सल्लाहकार एकनारायण काफ्लेले शिक्षकहरूको सबैभन्दा ठूलो उपलब्धि आफ्ना विद्यार्थीको सफलता भएको उल्लेख गर्दै पढाइसँगै संस्कार र नैतिक शिक्षालाई पनि समान महत्व दिनुपर्ने बताए ।
त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष रामबहादुर गुरुङले विद्यार्थीहरूलाई जहाँ पुगे पनि आफ्नो क्षमता र मेहनतका आधारमा उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर प्रगति गर्न शुभकामना दिए । उनले प्रत्येक विद्यार्थी भित्र रहेको प्रतिभालाई पहिचान गरी त्यसलाई अझ विकसित गर्नुपर्ने आवश्यकता औंल्याए ।

संस्थाका सचिव टीकाराम चापागाईंको स्वागत र सचिव कमल पौडेलको सञ्चालन भएको कार्यक्रममा सगरमाथा आवासिय माविका स्वयम् नेपाली, न्यू नमूना ईङ्गलिस बोर्डिङ्ग स्कुलका आदित्य थापा, तथा ग्रीनप्लान्ट आवासिय माविका अनमोल जिसी र दर्शन भट्टराईसहित ४.० जिपिए प्राप्त विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । यसैगरी सत प्रतिशत नतिजा ल्याएर सम्मानित हुने विद्यालयहरुमा न्यू लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कुल र मदरल्याण्ड एकेडेमी रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology