देवदह । रुपन्देहीको देवदहस्थित प्रहरी चौकी खैरेनीले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । सोमबार देवदह नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नागरिकले प्रहरी सेवा, ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित विभिन्न समस्या र सुझाव राखे ।
सुनुवाइका क्रममा नागरिकले प्रहरी सेवालाई थप नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । स्थानीय रुकात्मक भारतीले प्रहरीको प्राथमिकता कारबाहीभन्दा नागरिकलाई सेवा दिनु हुनुपर्ने धारणा राखे । सुनचाँदी व्यवसायी सुमन बरालले भारतीय मूलका केही व्यक्तिले गरगहना सफा गर्ने बहानामा ठगी गर्ने गरेको भन्दै त्यस्ता गतिविधिमाथि निगरानी बढाउन प्रहरीसँग आग्रह गरे ।
अटो व्यवसायी घनश्याम भण्डारीले अटो चालकहरू विभिन्न समस्यामा परेको बताए । उनले सवारी चेकजाँचका क्रममा विभिन्न बहानामा जरिवाना गरिने, ट्रायलमा असफल भएपछि पुनः परीक्षा दिन लामो समय कुर्नुपर्ने, नगरपालिकाले अटो दर्ता प्रक्रिया रोकेको, रिक्सा नवीकरण हुन नसकेको, प्रहरी चेकिङ प्रायः जंगल तथा एकान्त स्थानमा गरिने र व्यवस्थित अटो पार्किङको अभाव रहेको गुनासो गरे ।
टोल विकास संस्थाकी अध्यक्ष भीमादेवी देवकोटाले समुदायमा लागूऔषध दुर्व्यसन बढ्दो समस्याका रूपमा देखिएको भन्दै यसको नियन्त्रणका लागि सम्बन्धित सबै निकायले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताइन् ।
कार्यक्रममा उपस्थित अन्य सहभागीले पनि स्थानीय सुरक्षा, ट्राफिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाही, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल, नगर प्रवक्ता गणेश डुम्रेसहित विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, अटो व्यवसायी तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भिमसेन विष्टले चौकीले गरेका काम र त्यसबाट प्राप्त उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए भने हलबाट उठेका प्रश्न र जिज्ञासाको जवाफसमेत दिएका थिए ।
पत्रकार तिलोचन दहालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology