काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग बिहीबार छलफल गरेको छ ।
बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेखनीय सहभागिताले बजारमा स्थायित्व, तरलता र जिम्मेवार लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । नेपालमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत कमजोर रहेको भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उनीहरूको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिइएको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा सहभागी निकायहरूले हालको लगानी अवस्था, देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा आफ्ना धारणा राखेका थिए । दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, उचित मूल्य निर्धारण, तरलता वृद्धि तथा सुशासन प्रवर्द्धनका लागि संस्थागत लगानीकर्ताको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको थियो ।
छलफलका क्रममा अध्यक्ष भट्टले अबका दिनमा संस्थागत लगानीकर्ताले परम्परागत लगानी शैलीभन्दा अघि बढेर समयअनुकूल, विवेकपूर्ण र रणनीतिक लगानी पद्धति अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पूँजी बजारमा संस्थागत लगानी बढाउन आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको पनि बताए ।
बोर्डले संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्दै पूँजी बजारलाई थप सन्तुलित, स्थिर र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology