काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप ठूलो सैन्य आक्रमण तत्कालका लागि रोक्न निर्देशन दिएका छन् ।
द न्युयोर्क टाइम्स र एक्सियोसको समाचारअनुसार ट्रम्पले शुक्रबार आफ्ना वरिष्ठ सल्लाहकार र मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठकपछि अमेरिकी सेनालाई नयाँ ठूलो आक्रमण नगर्न आदेश दिएका हुन् ।
समाचारका अनुसार अमेरिकी सैन्य अधिकारीहरूले सैन्य अभियान थप विस्तार गरिए मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग रहेका प्याट्रियट अवरोधक क्षेप्यास्त्र र अन्य हवाई प्रतिरक्षा प्रणालीका हतियारको मौज्दात खतरनाक रूपमा घट्न सक्ने चेतावनी दिएका थिए ।
अमेरिकी संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले पनि ठूलो सैन्य अभियान अघि बढाउँदा मध्यपूर्वमा रहेका अमेरिकी सैनिक तथा सहयोगी राष्ट्रहरूको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने सुझाव दिएका थिए ।
प्रतिवेदनअनुसार गत अप्रिलको अन्त्यसम्म अमेरिका एक हजार दुई सयभन्दा बढी प्याट्रियट अवरोधक क्षेप्यास्त्र प्रयोग गरिसकेको छ ।
एक्सियोसका अनुसार आक्रमण रोक्ने निर्णय अस्थायी हो वा लामो समयसम्म लागू रहने हो भन्ने विषय अझै स्पष्ट भएको छैन । यद्यपि आवश्यक परे अमेरिकी सेना पुनः ठूलो सैन्य अभियान सञ्चालन गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology