काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने उनले बताए ।
उनले भने– ‘अहिले भर्खरै सकिएको स्थानीय तह निर्वाचनमा कतिपय मतदातालाई इच्छा हुँदा हुँदै पनि मतदाता नामावलीमा आफ्नो नाम नभएका कारणले गर्दा मतदान गर्न पाउनुभएन । उमेर पुगेकाहरूले मतदान गर्न पाउने अधिकारलाई सम्बोधन गर्नका लागि नाम दर्ता खोल्नुपर्ने स्थिति रहेको छ । त्यसकारण आयोगले नाम दर्ता खोल्ने योजना बनाएको छ ।’ निर्वाचनको मिति घोषणा भएको दिनदेखि नाम दर्ता गर्ने काम रोकेर मतदाता नामावली प्रशोधनको काम सुरु गर्ने र सो काम सहित समग्र निर्वाचनको तयारीको काम गर्न आयोगलाई १ सय २० दिन समय लाग्ने उनले बताए । २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष माथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology