नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका–८ स्थित वैरागनाथ मन्दिरमा मन्दिर पूर्वाधार विकास सहयोगार्थ सञ्चालन भइरहेको ‘धर्म जागरण शिर्वाचना तथा श्रृङ्गारिक महाआरती–२०८३’ मा चौथो दिनसम्म ९ लाख ९७ हजार ७ सय रुपैयाँ संकलन भएको छ ।
वैरागनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा श्रावण २८ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा भक्तजन तथा दाताबाट उक्त रकम संकलन भएको मन्दिरका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक गंगादत्त भण्डारीले जानकारी दिए । 'मन्दिरको पूर्वाधार विकासका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको धार्मिक कार्यक्रममा दैनिक रूपमा भक्तजनको सहभागिता बढिरहेको छ' उनले भने ।
यज्ञमा श्रीमद्भागवत कथावाचन, संगीतमय भजन–कीर्तन, श्रृङ्गारिक महाआरती तथा विभिन्न वैदिक अनुष्ठान सञ्चालन भइरहेका छन् ।
कथावाचक पण्डित चन्द्रकान्त काफ्लेबाट संगीतमय श्रीमद्भागवत कथा वाचन भइरहेको छ ।
आयोजकका अनुसार प्रत्येक दिन बिहान यज्ञमण्डप पूजा, बेलपत्र तथा रुद्राक्ष अर्पण, पाठ पारायण, श्रीमद्भागवत कथावाचन, झाँकीसहित भजन–कीर्तन तथा प्रसाद वितरण हुँदै आएको छ । प्रत्येक साँझ श्रृङ्गारिक महाआरती र भजन–कीर्तनसमेत सञ्चालन हुँदै आएको छ ।
कार्यक्रममा भक्तजनको इच्छाअनुसार ग्रहशान्ति, रुद्राभिषेक, लक्ष्यवर्ती तथा अन्य वैदिक कर्मकाण्डसमेत सञ्चालन गरिएका छन् । विभिन्न सेवा तथा दानका शीर्षकमार्फत भक्तजनले मन्दिरको पूर्वाधार विकासका लागि सहयोग गरिरहेका छन् ।
वैरागनाथ मन्दिर सत्ययुगकालीन धार्मिक महत्व बोकेको स्थलका रूपमा परिचित छ । 'भगवान शिव' सतीदेवीको मृत्युपछि बैरागीएर सोही स्थानमा आएर बसेको हुनाले बैरागनाथ मन्दिर भनिएको स्थानीयहरू बताउँछन ।
मन्दिरमा श्रावण महिना, महाशिवरात्रि तथा अक्षय तृतीयाका अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजन यहाँ दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् ।
यी हुन महायज्ञमा हालसम्म ५० हजारभन्दा धेरै दानदिने व्यक्तिहरू :
१. कृष्णबहादुर केसी, सुनवल–८ : १,२५,१११ रुपैयाँ
२. लोकबहादुर केसी, सुनवल–८ : १,११,१११ रुपैयाँ
३. रेवतीदेवी लामिछाने, सुनवल–७ : १,११,१११ रुपैयाँ
४. गंगा दत्त भण्डारी, सुनवल–८ : १,०१,१११ रुपैयाँ
५. रामशरण पण्डित, सुनवल–८ : ७५,००० रुपैयाँ
६. तारा भुसाल, सुनवल–८ : ५५,५५५ रुपैयाँ
७. कृतिमान तामाङ, सुनवल–८ : ५५,५५५ रुपैयाँ
८. दीपक शर्मा लम्साल, देवदह : ५५,५५५ रुपैयाँ
९. होमनाथ आचार्य, सुनवल–८ : ५५,५५५ रुपैयाँ
१०. लक्ष्मी लम्साल, सुनवल–८ : ५५,५५५ रुपैयाँ
११. बोधराज गौडेल, देवदह : ५१,००० रुपैयाँ
१२. दिपक नेपाल, देवदह–१ : ५०,१५५ रुपैयाँ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology